८६ वर्षमा नागरिकता पाएकी बोहरा भन्छिन्: सामाजिक सुरक्षा भत्ताले मासु खान्छु

 चैत २७, २०७५ बुधबार १८:४४:१७ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - १९९० सालमा जन्मनु भएकी साएपाल गाँउपालिका–४ की फुर्पु लामु बोहराले ८६ वर्षको उमेरमा घरैमा ७११६७५।०००१६ नम्बरको नागरिकता पाउनुभएको छ । 

घुम्ती शिविरका क्रममा प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसहितको टोलीले साइपालको धुलीमा रहेको बोहराको घरमै पुगेर नागरिकता दिनुभएको हो । 

घरमै नागरिकता पाएपछि बोहराले प्रमुख जिल्ला अधिकारी सहितको टोलीलाई धन्यबाद व्यक्त गर्नुभयो ।

‘बुढेसकालमा नागरिकता मात्रै बनाउन सके हुन्थ्योजस्तो लागेको थियो’, बोहराले भन्नुभयो, ‘मसंगका धेरै जस्तो साथीसंगीहरु नागरिकता नै नपाएर मरे । मेरो पनि त्यस्तै हालत होला भन्ने सोचेकी थिएँ । धन्न शिविरले नागरिकता बनाइदियो, सरकारलाई धन्यवाद छ ।’

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले अब सामाजिक सुरक्षा भत्ता पाइने र त्यो रकमले के गर्नु हुन्छ भनेर सोध्दा बोहराले रक्सी र मासु खाने बताउनुभयो । उत्तर सुनेर छक्क परेका प्रजिअ अधिकारीले कारण बुझ्दा बोहराले आफूहरुको सुख दु:ख दुवैमा रक्सी खाने चलन भएकाले नागरिकता पाएको खुशीमा रक्सी र मासु खाने जवाफ दिनुभयाे । 

बोहराजस्तै यहाँ धेरै व्यक्तिहरुले घरमा नै नागरिकता पाएपछि दंग भएका छन् । एउटा नागरिकता लिन १० देखि ३५ हजारसम्म खर्च हुने गरेका कारण यहाँका धेरैजसोले नागरिकता नै नबनाएको पाइएको प्रमुख जिल्ला अधिकारी सुनारको भनाइ छ । 

आफ्नो नागरिकता बनाउँदा २० हजार खर्च भएको बताउँदै फुर्पुलामु बोहराका छोरा धन बहादुरले अहिले आमालाई बोकेर सदरमुकामसम्म पुर्याउन सकिने अवस्था नरहेको र मौकाले शिविर सञ्चालन भएकाले नागरिकता पाएको बताए । 

यस्तै साइपाल गाँउपालिका–४ का ७६ वर्षीय पौरख्या बोहराले पनि नागरिकता पाएका छन् भने धेरैले युवाहरुले नागरिकता, तिब्बत प्रवेश पत्रलगायतकf सेवा पाएका छन् । 
 

अन्तिम अपडेट: चैत १०, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया