मापदण्ड विपरीत खोला उत्खनन् : ठेकेदारको मनोमानी, जनप्रतिनिधि मौन

 बैशाख २, २०७६ सोमबार ८:१२:११ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - चितवनमा मापदण्ड विपरीत खोला उत्खनन् भइरहेको छ । खोलाजन्य सामाग्री मनोमानी रुपमा ठेकदारले उत्खनन गर्दा पनि स्थानीय जनप्रतिनिधि मौन रहेकाछन् ।

चितवन जिल्लाको नदी तथा खानी क्षेत्रबाट नदी तथा खानीजन्य पदार्थ उत्खनन, संकलन तथा विक्री वितरण प्रकृयाको अनुगमन नियमन सम्वन्धी कार्यविधि बनेको भए पनि कार्यविधी अनुसार काम हुन सकेको छैन । 

जिल्लाका सवै स्थानीय तहका प्रतिनिधिहरुको सहभागितामा बनाइएको कार्यविधीमा उद्देश्य, क्षेत्रहरु, नदीजन्य पदार्थ उत्खनन तथा संकलन हुने प्रक्रिया, खानीजन्य साधारण निर्माणमुखी खनिज पदार्थ उत्खनन कार्यको प्रक्रिया, अनुगमन सम्वन्धी व्यवस्था, कसुरको किसिम र कार्वाहीको प्रकृयाका बारेमा उल्लेख गरिएको छ । 

स्थानीय तहले ठेक्का दिएका खोलानालबाट धमाधम अवैध रूपमा ढुंगा, बालुवा उत्खनन भइरहेको हो । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार राजमार्ग, सहायक राजमार्ग, पुलपुलेसा, कलभर्ट, नहर, वन, चुरे र तटबन्धको ५ सय मिटरभित्रबाट ढुंगा, बालुवा, ग्राभेल र माटो झिक्न नपाइने मापदण्ड निर्धारण गरिए पनि यहाँका नदी तथा खोलानालामा विधी अनुसार उत्खनन हुन सकेको छैन । 

स्थानीय सरकारले आफ्नो क्षेत्रका खोलानाला उत्खननबाट हुने आम्दानीबाट ६० प्रतिशत पाउने कानुनी व्यवस्था रहेको छ । आम्दानीको ४० प्रतिशत प्रदेश सरकारको हुने व्यवस्था छ । प्रदेश सरकारमार्फत चितवनका स्थानीय सरकारले नदी र खोलाजन्य सामाग्रीको उत्खननका लागि ठेक्का लगाएका हुन् । 

ठेकदारको मानोमानी

स्थानीय सरकारमार्फत ठेक्का प्रणालीमा सहभागी भएर नदीजन्य र खोलाजन्य सामाग्रीको उत्खनन गरिरहेका ठेकदारहरुले मनोमानी तरिकाले काम गरिरहेकाछन् । उत्खनन स्थलमा उत्खनन गर्ने नदीजन्य पदार्थको परिणामसमेत खुल्ने गरी होर्डिङवोर्ड राख्नु पर्नेमा अधिकांसले राखेका छैनन् । 

नदीको पानीभित्र मेशिनरी सामान प्रयोग गर्न नपाइने व्यवस्था भएपनि अटेर गरिरहेकाछन् । नदी वहाव क्षेत्रमा समाग्री संकलन गरिरहेकाछन् । स्थानीय अनुगमन समिति र जिल्ला अनुमगन तथा समन्वय समितिमा अभिलेखिकरण नगराई मेशिनरी साधान प्रयोग गर्ने क्रम बढेको छ । 

ढुवानी साधनहरुले ढाला भन्दा माथी र नछोपी नदी जन्य सामाग्री ओसार पसार गरिरहेको भेटिन्छन् । रातको समयमासमेत उत्खनन गर्ने र तोकिएको भन्दाबढी गहिराइबाट उत्खनन भइरहेको अनुमगनका क्रममा भेटिएको छ ।

सिंचाइ, कुलो, सडक तथा अन्य भौतीक संरचनालाई असर पर्ने गरी सामाग्री संकलन तथा उत्खनन गर्न पूर्ण निषेध गरिएको भए पनि ठेकदारहरुले टेरेका छैनन् ।ढुवानी गरी लैजाने मार्गमा धुलो उड्न नदिन पानी छर्कने तथा सवारी साधानहरु सीमित गतिमा चलाउनुपर्ने उल्लेख भएपनि यो व्यवस्था कार्यान्वयनमा आउन सकेकाे छैन । 

जनप्रतिनिधि मौन

जिल्लाका स्थानीय तहमा रहेका खोलानालाबाट बालुवा, ढुंगा, गिट्टी निकाल्ने काममा विधी अनुसार हुन नसकेको जिल्ला अनुमगन समितिले अनुगमनका क्रममा फेला पारेको थियो ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले केही स्थानमा मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन र संकलन भइरहदा स्थानीय जनप्रतिनिधि सकृय हुनुपर्नेमा त्यस्ताे सकृयता नपाएको उहाँले बताउनुभयाे ।  

समितिले सबै स्थानीय तहमा अनुगमन गरेकाे बताउँदै उहाँले मापदण्ड विपरीत नदीजन्य पदार्थ संकलन भएको स्थानमा रोक्नका लागि निर्देशन दिएको बताउनुभयो ।

अटेरी गरी कार्यविधी अनुसार काम नभए कारवाही गर्ने उहाँले बताउनुभयो । ‘स्थानीय तह मौन रहनु भएन,’ उहाले भन्नुभयो, ‘आफ्नो क्षेत्रमा रहेका नदी खोलामा मापदण्ड विपरीत उत्खनन् भइरहँदा स्थानीय तहको चासो बढ्नु पर्छ ।’ 

नदीजन्य तथा खानीजन्य साधारण निर्वाहमुखी खनिज पदार्थ उत्खनन संकलन प्रक्रिया अनुसार भए नभएको जिल्ला अनुगमन तथा समन्वय समितिले नदी तथा खानी क्षेत्रको व्यवस्थापनका बारेमा अनुगमन गर्दै आएको प्रमुख डल्लाकोटीले बताउनुभयो ।

स्थानीय स्तरमा समेत गठन भएको अनुमगन तथा समन्वय समितिले नियमित रुपमा अनुगमन गरी प्रतिवेदन जिल्ला अनुगमन समितिलाई पेश गर्नुपर्ने भएपनि सोचे अनुसारको अनुगमन स्थानीय स्तरमा गठन भएका समितिले गर्न नसकेको बताउदै उहाँले पछिल्लो समय सक्रियता बढाउन आफुले अनुरोध गरेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिारीको निर्देशनमा नेपाल प्रहरी र शसस्त्र प्रहरीबाट जुनसुकै समयमा अनुगमन गर्न सक्नेगरी परिचालन गर्ने व्यवस्था समेत रहेको जानकारी दिदै उहाँले प्रकृति र वातावरण संरक्षणका लागि विधी अनुसार काम गर्न गराउन जिल्लाका सवै पक्ष सक्रिय रहनुपर्ने बताउनुभयो । 

दण्ड जरिवानाको व्यवस्था

नदीको पानीभित्र मेशिनरी सामान प्रयोग गरी बहाव क्षेत्रमा सामाग्री संकलन गरेको भेटिए दण्ड जरिवाना हुने व्यवस्था छ । 

नदीमा मेशिनरी औजार प्रयोग गरेकाे भेटिए पहिलो पटकका लागि एक लाख रुपैयाँ दण्ड हुने व्यवस्था छ । यस्तै ट्रिपर र ट्रक प्रयोग गरेमा ३० हजार, मिनि ट्रकलाई २० हजार र ट्रयाक्टरलाई १० हजार जरिवाना गरिने व्यवस्था छ । 

स्थानीय अनुगमन समिति र जिल्ला अनुगमन तथा समन्वय समितिमा जानकारी नगराइ मेशिनरी साधान प्रयोग भएमा एक लाख ५० हजार रुपैया जरिवाना हुने छ ।

तोकिएको भन्दाबढी गहिराइबाट उत्खनन गरेमा एक लाख ५० हजार, तोकिएको संख्या भन्दाबढी मेशिनहरु प्रयोग भएमा एक लाख, नदीको धार परिवर्तन गरी सामाग्री संकलन उत्खनन गरेमा एक लाख, निषेधित क्षेत्रमा सामाग्री संकलन गरेमा एक लाख ५० हजार रुपैया जरिवाना हुने व्यवस्था कार्यविधीमा उल्लेख छ ।  

रातको समयमा समाग्री उत्खनन संकलन गरेमा पहिलो पटकका लागि एक लाख ५० हजार र ट्रिपर र ट्रक प्रयोग गरेमा ४५ हजार, मिनि ट्रकलाई ३० हजार र ट्रयाक्टरलाई १५ हजार जरिवाना हुने व्यवस्था छ ।

कुनै पनि स्थानीय तहको स्वीकृति बिना नदीजन्य पदार्थ तथा व्यक्तिगत जग्गाको माटोसमेत अनाधिकृत रुपमा चोरी निकासी गरेमा, मेशिनरी औजार प्रयोग गरी चोरी निकासी गरेमा मेशिनरी औजारको पहिलो पटकका लागि एक लाख ५० हजार, ट्रिपर तथा ट्रक प्रयोग गरेमा ३० हजार, मिनि ट्रकलाई २० हजार र ट्रयाक्टरलाई १० हजार जरिवाना हुने व्यवस्था रहेको छ ।

ढुवानी साधानहरुले ढुंगा, गिटी, वालुवा नछोपी ढुवानी गरेमा ट्रिपर तथा ट्रकको लागि ५ हजार, ट्रयाक्टरलाई ३ हजार र ढालाभन्दा माथी ढुवानी गरेमा ट्रिपर तथा ट्रकको लागि १० हजार, ट्रयाक्टरलाइ ५ हजार जरिवाना हुने व्यवस्था छ । कार्यविधीमा उल्लेख गरिएको कसुर दोहोर्‍याएमा तोकिएको जरिवानामा ५० प्रतिशत थप जरिवाना हुने व्यवस्था छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया