बान्नीकी चैतली जात्रा सम्पन्न (फाेटाेसहित)

 बैशाख ५, २०७६ बिहिबार १५:५८:४९ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङ जिल्लाको सबैभन्दा ठूलो धार्मिक मेला बान्नीकी चैतली सम्पन्न भएको छ । सुदूर पश्चिमको प्रसिद्ध मेला बान्नीकी चैतलीमा हजारौं दर्शनार्थीहरुले बान्नीको कांकर र मष्टाको दर्शन गरेका छन् ।

परापूर्वकालमा महिषासुर दानवले बान्नी मष्टा देवतासँग युद्ध गरी मष्टालाई पासोमा पारेको र मष्टालाई दानवको पासोबाट मुक्त गर्न सुर्मादेवी प्रकट भइ महिषासुरको वध गरेको खुसीयालीमा बान्नीकी चैतली मेला लाग्ने गरेको छ ।

होली पूर्णिमाको दिनबाट सुरु हुने यो मेला चैत्र शुक्ल पूर्णिमासम्म चल्ने गर्दछ । मेला सुरु भए पछि प्रत्येक रात मन्दिरमा बाजा बजाउने र मष्टाका करियाहरु चोखो निम्तो भएर ब्रत बस्ने गरेको स्थानीय बासिन्दा सुरेश कठायतले बताए । 

सुर्मा देवीले भाला प्रहार गरी दानवको बध गरेको प्रतिकका रुपमा चैत्र औंसीका दिन काटेको कांकर (लिङ्गो) लाई चैत्र शुक्ल त्रयोदशीका दिन तोलेनी भन्ने खेतमा हिँडाउने गरिन्छ । झण्डै ४०।५० मिटर लामो कांकरलाइ मानिसहरुले समाएर ३ सय मिटर जति हिँडाउने गरिन्छ । 

यसरी हिँडाएर ल्याएको कांकरलाई बान्नी मष्टाको मन्दिरमा चढाएपछि राक्षसको टाउकोको भकुन्डो बनाएर सुर्माले खेलेको सम्झनामा तल्लो छविस र मल्लो छविसका बासिन्दाहरुबीच भकुन्डो खेल्ने प्रचलन रहेको छ । 

यसरी कांकर हिँडाएको र भकुन्डो खेलेको हेर्न बझाङ जिल्लालगायत सुदूरपश्चिमका विभिन्न जिल्लाबाट हजारौं मानिसहरु साविक कडेल गाविसको बान्नी चौरमा पुग्ने गर्दछन् ।

राक्षसलाई मारिसके पछि सुर्मा देवीले पेटको छाला निकालेर दमाहा बनाएको र हातका औलाको नगरा (गजा) बनाइ विजय उत्सव मनाएको किंवदन्ती छ । 

चैतली मेला हेर्नकै लागि भनेर सुदूरपश्चिमका साथै भारतबाट समेत मानिसहरु मेलामा पुग्ने गरेको छविसपाथिभेरा गाउँपालिकाका अध्यक्ष अक्कल धामीले बताए ।  यस वर्ष १५ देखि २० हजारभन्दा बढी दर्शनार्थीले चैतली मेला हेरेको बान्नी गाँउपालिकाका अध्यक्ष धामीको भनाइ छ । 

मेलामा देउडा प्रतियोगिताको आयोजना गरिएको छ । देउडा प्रतियोगिता सञ्चालनमा रहेको उहाँले बताए । मेलाको सुरुको दिन देखी नै मौसममा खराबी आएका कारण मेला भने जस्तो नभएको उहाँको भनाइ छ । 

मेला भब्य र सभ्य तरिकाले शान्तिपूर्ण वतावरणमा सम्पन्न भएको छ । मेला लाग्ने ठाँउमा नै सवारीका साधन पुगेकाले अघिल्ला वर्षहरु भन्दा यस वर्ष मेलामा भक्तजनहरुको बढी सहभागिता देखिएको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया