गुल्मीका दुईवटा संस्थागत विद्यालय सामुदायिक विद्यालयमा गाभिए

 बैशाख ६, २०७६ शुक्रबार ८:२७:४१ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मी दरबार गाउँपालिकामा दुईवटा संथागत विद्यालयहरु सामुदायिक विद्यालयमा गाभिएका छन् । शैक्षिक गुणस्तर सुधारको लागि वडाभित्रका जनप्रतिनिधिहरुको समन्वयमा दुईवटा संस्थागत विद्यालय  सामुदायिक विद्यालयमा गाभिने निर्णय गरेका हुन् । 

संस्थागत विद्यालयबाट सामुदायिक विद्यालयमा गाभिनेहरुमा गुल्मी दरबार गाउँपालिका–५ अन्तर्गत रहेको गौरीशंकर इङ्लिस बोर्डिङ्ग स्कुल र ७ नम्बर वडामा रहेको रेसुंगा इङ्लिस बोर्डिङ्ग स्कुल रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख दिपक भण्डारीले जानकारी दिनुभयो । 

दुईवटै विद्यालयका प्रधानाध्यापकहरु र व्यवस्थापन पक्षको संयुक्त प्रयासबाट शैक्षिक गुणस्तर सुधारमा प्रतिबद्ध भई अघि बढ्ने निर्णय गर्दै सम्पूर्ण विद्यार्थी, शिक्षक र भौतिक संरचनाहरु सामुदायिक विद्यालयको स्वामित्वमा रहने गरी विद्यालयहरु गाभिएको शिक्षा अधिकृत भण्डारीले बताउनुभयो । 

संस्थागत विद्यालयहरु मध्ये गौरीशंकर इङ्लिस बोर्डिङ्ग स्कुल ईश्वरी माध्यमिक विद्यालयमा र रेसुंगा इङ्लिस बोर्डिङ्ग स्कुल ठूलापोखरा आधारभुत विद्यालयमा गाभिएका हुन् । रेसुंगा इङ्लिस बोर्डिङ्ग स्कुलमा अहिले ७ सय विद्यार्थी र ३० जना शिक्षकहरु रहेका छन् भने गौरी शंकर इङ्लिस बोर्डिङ्ग स्कुलमा ३ सय भन्दा बढी विद्यार्थी र २५ जना शिक्षकहरु रहेका छन् । 

नेपालको शैक्षिक इतिहासमा स्थानीय तहहरुमध्ये गुल्मी जिल्लामा रहेको गुल्मी दरबार गाउँपालिकाले गरेको यो अभ्यास अनुकरणीय र नेपालकै लागि नौलो अभ्यास भएको शिक्षा मन्त्रालयका सहसचिव टेकनारायण पाण्डेले बताउनु भएको छ । उहाँका अनुसार यसले सबैमा सकारात्मक सन्देश दिने भन्दै अरु स्थानीय तहहरुले पनि यो कामलाई नमूनाको रुपमा लिनु पर्ने सुझाव दिनुभयो । 

गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले विद्यालयहरुले गरेको यो प्रयासलाई स्वागतयोग्य भन्दै यस्ता सामुदायिक विद्यालयलाई प्रोत्साहन गरिने बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया