एक कल फोन गर्न एक दिनकाे पैदल यात्रा !

 बैशाख ९, २०७६ सोमबार २०:३५:४७ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - साईपाल गाउँपालिकामा फोन गर्ने भि-स्याट सेवा बिग्रेपछि स्थानीयवासी सम्पर्कविहीन बनेका छन् । २०६६ सालमा नेपाल टेलिकम र तत्कालीन काँडा गाविसको लगानीमा जडान गरिएको भि-स्याट सेवा बिग्रिएको हो । 

झण्डै तीन महिना अघिदेखि भि-स्याट सेवा बिग्रिएको भि-स्याट सेवा सञ्चालक गोरखबहादुर बोहराले बताउनुभयो । मर्मत गर्नका लागि सदरमुकामबाटै प्राविधिक बोलाउनु पर्ने भएकोले प्राविधिकहरु साईपाल गाँउपालिकासम्म जान नमान्दा स्थानीय बासिन्दा सम्पर्कविहीन हुनुपरेको उहाँको भनाइ छ । 

दूरसञ्चार कार्यलयमा समेत बिग्रिएको भि-स्याट बनाउनका लागि पटक-पटक पुगेको बताउँदै बोहराले सदरमुकाम चैनपुरबाट भि-स्याट भएको ठाँउसम्म पुग्न २/३ दिन लाग्ने बताए । बझाङको हिमाली भेग साइपाल गाँउपालिकाको ५ गाउँका २ हजार भन्दा बढी बासिन्दा अहिले पनि एक कल फोन गर्न एक दिनको पैदल यात्रा गर्न बाध्य छन् । 

बझाङको हिमाली भेग साइपाल गाँउपालिकाको ५ गाउँका २ हजारभन्दा बढी बासिन्दा अहिले पनि एक कल फोन गर्न एक दिनको पैदल यात्रा गर्न बाध्य छन् । धुली, लौडी, न्युना, धलौन गाउँका बासिन्दाहरु अहिले पनि घण्टौँ हिँडेर काँडाको बाझचौकामा रहेको एकमात्र भि-स्याटसम्म पुग्नुपर्छ । ‘घरबाट काँडा जान एक दिन लाग्छ, फोन गर्नुपर्‍याे भने बिहानै आएर यतै बस्नुपर्छ । भोलिपल्ट मात्र घर फर्किन्छौँ ’, धलौनका  वसन्त बोहराले भन्नुभयो ।

यहाँका बासिन्दालाई फोनमा कसैसँग कुरा गर्नुपर्‍याे भने २ दिनको समय छुट्याउनु पर्छ । बोहरा भन्नुहुन्छ, ‘पुरुषहरुभन्दा घर बाहिर हुने महिलालाई झन् गाह्रो हुन्छ । बस्ने खाने समस्या हुन्छ, केटाकेटी गाईबस्तुसमेत अर्काको जिम्मा लाएर आउनु पर्ने बाध्यता रहेको छ ।’ अहिले यहाँका स्थानीय बासिन्दाहरु झण्डै एक दिनको जोखिम र भिरको  बाटो भएर अग्ला अग्ला डाँडाहरुमा गएर फोन सम्पर्क गर्ने गरेका छन् । 

धुलीका स्थानीयले गाउँभन्दा पर एक दिन पैदल हिँडेर नुवामुल डाँडामा फोन गर्न जानुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दा प्रेम लामाले बताए । यस्तै  न्युनाका र काँडाका स्थानीयले खरालीखेत, धलौनका स्थानीय बासिन्दाले नाग्ना डाँडा, बलौडी र जिमाका स्थानीय बासिन्दालहरुले भुस्या र खराली खेतमा नै पुग्नुपर्ने बाध्यता रहेको छ । 

साइपाल गाउँपालिकाको धलौन गाउँमा विसं २०६८ सालमा स्मार्ट टेलिकम कम्पनीले ५ वटा भि-स्याट लाइन जोडे पनि एक वर्षपछि सबै लाइन बन्द भएका थिए । धलौन गाउँ पनि बाझचौकाबाट ७ घण्टाको पैदल दूरीमा छ । 

साईपाल गाँउपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले भने अहिले धलौन नजिकै टेलिकमको टावर जडान भैरहेको र अबको केही समयपछि नै सबैले सहज र घरभित्रै बसेर टेलिफोन गर्न सक्ने बताए । भौगोलिक विकटताका कारण पनि काम गर्न निकै समस्या भएको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया