गुल्मीमा झाडापखालाबाट बिरामी हुनेको संख्या १ सय ६० पुग्यो

 बैशाख १४, २०७६ शनिबार १४:३६:५८ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - गुल्मीको मुसिकोट नगरपालिका-४ काे दजाकोटमा दूषित पानीका कारण गएकाे आइतबारदेखि फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन ।

झाडापखालाबाट बिरामी हुनेहरुको संख्या शनिवार अपराह्नसम्म १ सय ६० पुगेको उपचारमा संलग्न मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डीबी जीसीले बताउनु भएको छ । 

बिरामीहरुमध्ये पाँच जनाको गुल्मी अस्पताल तम्घासमा उपचार भैरहेकोमा शनिवार दुई जनालाई डिस्चार्ज गरिएको छ भने एक जनालाई भरतपुर मेडिकल कलेज चितवनमा उपचार भैरहेको छ । अन्य बिरामीहरुको भने दजाकोटमै सञ्चालित अस्थाई शिविरमा उपचारपछि घर फर्कने गरेको संयोजक जिसीले बताउनु भयो । 

गुल्मी अस्पताल तम्घासमा डाक्टर उत्तम पचभैयाका अनुसार उपचारमा आएका पाँचै जनाको दिसामा एकै प्रकारको परजीवी देखिएका कारण पानीमा संक्रमण भएकाे हुनसक्ने बताउनु भयाे । पानी परीक्षणका लागि विश्व स्वास्थ्य संगठनबाट डाक्टरको टाेली शनिबार नै प्रभावित क्षेत्रमा पुग्ने जनाइएकाे छ । 

प्रभावित  क्षेत्रमाखानेपानीको समस्या

झाडापखालाबाट प्रभावित दजाकोटको सिंगो बस्तीमा यतिबेला पिउने पानीको समस्या भएको छ । गएकाे एक वर्षदेखि नियमित रुपमा ८५ घरपरिवारले उपभोग गर्दै आएको पानी दूषित भएपछि स्थानीयहरु पानीकाे समस्यामा परेका हुन् । 

गाउँमा पानीको मुहान नभएपछि केही टाढा रहेको तालखोला भन्ने ठाउँबाट नगरपालिकाले शुक्रबारदेखि ट्यांकरबाट पानी वितरण गर्दै आएको छ । साथै प्रत्येक घरलाई एक कार्टूनका दरले बाेतलकाे पानी उपलब्ध गराएको नगरपालिका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभयाे । 

यसबाहेक नगरपालिकाले बिरामीहरुकाे उपचारका लागि आवश्यक बजेटको व्यवस्था गर्ने सापकोटाले बताउनु भएको छ । अहिले प्रभावित बस्तीमा सरसफाई सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएकाे छ । 


 

अन्तिम अपडेट: फागुन २९, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया