कर्णाली प्रदेशकाे बालीमा विश्व खाद्य कार्यक्रमले जीविकोपार्जन अध्ययन थाल्यो

राहत नभई स्थानीय उत्पादन कार्यक्रममा जोड

 बैशाख १५, २०७६ आइतबार १७:१५:५३ | नेत्र शाही
unn.prixa.net

जुम्ला- कर्णालीमा लगाइने बाली, उत्पादन हुने खाद्यान्नको सुरक्षा, वातावरणीय प्रभाव र जीविकोपार्जनको अवस्थाका बारेमा अध्ययन सुरु गरिएको छ ।

नेपाल सरकार राष्ट्रिय योजना आयोग, कर्णाली प्रदेश सरकार र विश्व खाद्य कार्यक्रमको समन्वयमा उत्पादन हुने खाद्यान्नको अवस्था, असर, जोखिम क्षेत्र र सम्भावनाको बारेमा अध्ययन गर्न सम्बन्धित टोली जुम्ला पुगेको छ । 

स्थानीय तहका प्रमुख, उपप्रमुख, कृषि तथा पशुक्षेत्रका कर्मचारीहरु र सरोकारवाला निकायको सहभागितामा पहिलो चरणमा छलफलमार्फत सुझाव संकलन गरिएको छ । जिल्ला समन्वय समिति जुम्लाको स्थानीय समन्वयमा जुम्लामा हरेक गाउँपालिकामा उत्पादन हुने बालीको अवस्था, विभिन्न कारणले बाली उत्पादनमा हुने क्षति, बाली जोगाउनका लागि गरिएका प्रयास, रोग र किराको अवस्थादेखि विभिन्न विषयको गहिराइमा रहेर छलफल तथा स्थानीयहरुबाट आएका बिषयहरुलाई समेटिएका छन् । 

विश्व खाद्य कार्यक्रम अन्तर्गत भौगोलिक सूचना प्रणाली विश्लेषक मान क्षेत्रीसहित ५ जनाको टोलीले जुम्ला पुगेर स्थानीय उत्पादन हुने खाद्यान्नको बारेमा अध्ययन थालेका हुन् । स्थानीय सरकार र कृषि जानकारहरुसँगको छलफल तथा अन्तर्क्रियामा कृषि उत्पादनको तहगत अवस्थाको बारेमा सुझाव संकलन गरिएको छ । 

खडेरी र असिना कृषि बालीकाे प्रमुख समस्या   

जुम्लाको चन्दननाथ नगरपालिकासहित आठ स्थानीय तहमा खडेरी, असिना, बाढी पहिरो, रोग र किराले कृषि बाली उत्पादनमा समस्या आउने गरेको देखिएको छ । छलफलमा उपस्थित स्थानीय तहहरुले खडेरीले सबैभन्दा बढी बालीनाली नोक्नान गर्ने, त्यसपछि असिना आएमा स्याउ तथा फलफूलको फूल, धान, मकै, गहुँमा असर गर्ने समस्या रहेको बताएका थिए । त्यस्तै बाढी पहिरोले पाक्नै लागेको बालि पनि बगाउने र रोग किराले समेत सताउने प्रतिशत बढी भएको बताए ।  

यसैगरी स्थानीय तहको कृषिमा के के गर्दा समृद्धि आउला भन्ने विषयमा गरिएको सुझाव संकलनमा सहभागीहरुले यहाँको स्याउ, सिमी, ओखर, आलु, जडिबुटी आदिलाई पकेट क्षेत्र बनाइनुपर्ने, सिँचाइको पर्याप्त पूर्वाधार हुनुपर्ने, कम हुँदै गएको मार्सी धान जोगाउन विशेष योजना बनाइनुपर्ने, भेडापालन तथा उन्नत गाईभैँसी पालनमा जोड दिइनुपर्ने धारणा राखेका थिए । 

गुठीचौर गाउँपालिकाका हरिबहादुर भण्डारीले यहाँ सिँचाइ प्राप्त भएमा धेरै बाली उत्पादन हुने बताउनुभयो । उहाँले अर्गानिक जिल्लामा पूर्वाधार नहुँदा समस्या भएकाले अर्गानिक मल सहितको पूर्वाधार हुनुपर्ने बताउनुभयो । तिला गाउँपालिका उपाध्यक्ष विष्णुमाया बुढाले कृषिबाटै हाम्रो आयआर्जनको समृद्धि भएकाले योजना बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो । 

कृषि प्राविधिक हिक्मतराज गिरीले जलवायु परिवर्तनले केही असर गरिरहेकाले बालीहरु पहिलेभन्दा अगाडि नै पाक्ने गरेको बताउनुभयो । पशु विकास अधिकृत गोविन्द बहादुर महतले पछिल्लो समय भ्यागुत्ता, किरा, सर्पहरु पनि कम निस्किने गरेकोले यसको अध्ययन गर्न आवश्यक रहेको बताउनुभयो ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिई काम गर्नुपर्ने र खाद्य सुरक्षा सम्बन्धी अध्ययनको गहिराइमा पुगेर प्रतिवेदन ल्याउन विश्व खाद्य कार्यक्रमलाई सुझाउनुभयो ।  

विश्व खाद्य कार्यक्रमले जिम्मा लिएको अध्ययनमा कर्णालीका १० जिल्लामा अहिले ४ टोली खटिने विश्लेषक क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार, आफ्नो संयोजकत्वको टिम जुम्ला, कालिकोट, मुगु र सुर्खेतमा खटिएको छ । यसैगरी सल्यान, जाजरकोट, दैलेख र रुकुममा यज्ञ पुन नेतृत्वको टोली र डोल्पामा पुष्कर श्रेष्ठको टोली खटिएर काम सुरु गरिसकेको छ । यसैगरी हुम्लामा श्रीधर थापाको नेतृत्वमा टोली खटिएको छ ।  

अध्ययनपछि आएको प्रतिवेदन राष्ट्रिय योजना आयोग, कर्णाली प्रदेश सरकार, कर्णाली प्रदेश योजना आयोग र स्थानीय तहहरुलाई बुझाइने विश्व खाद्य कार्यक्रमले जनाएको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया