विद्यालय हातामा देवीकाे मन्दिर: छाउ हुँदा विद्यालय जान डराउँछन् साइपालका किशाेरी

 बैशाख १७, २०७६ मंगलबार १५:५३:४६ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - महिनावारी(छाउ) भएको समयमा साइपाल गाँउपालिकाकी छात्राहरुले विद्यालय जान नपाएको गुनासो गरेका छन् ।

गाँउपालिका नजिकै रहेको काँडा माद्यमिक विद्यालयको बिचमा प्राङ्गणमा भवानीको मन्दिर भएका कारण यहाँ पढ्ने छात्राहरु महिनावारी भएको समयमा ५।६ दिन सम्म स्कुलमा नगएर घरमै बस्ने गरेका हुन् ।

विद्यालय प्राङ्गणमा मन्दिर भएका कारण महिनावारी(छाउ) भएको समयमा विद्यालयमा जाँदा अनिष्ट हुने, पछि गएर वंश नै नाश हुने, घर, परिवारमा राम्रो नहुनेलगायतका कुसंस्कार अहिले पनि भएका कारण आफू कक्षा १० मा अध्ययन गर्दा एक महिनामा ६ दिनसम्म विद्यालय नगएकाे मनिषा कुमारी बोहराले बताउनुभयाे ।

‘विद्यालयको बिचमा भवानीको मन्दिर छ । विद्यालयमा जानेबित्तिकै देउता लागी हाल्छन् रे । पछि गएर नराम्रो हुन्छ भन्छन् । घर परिवारका सदस्यहरु पनि नजानु महिनावारी भएको समयमा भन्नु हुन्छ । त्यसैले यहाँका सबै छात्राहरु महिनावारी भएको समयमा विद्यालयमा नगइ मेलापात, घाँस दाउरा गर्न जान्छौँ,’ कक्षा १० मा अध्यनरत छात्रा विमला कुमारी बोहराले भन्नुभयाे । 

‘हामीभन्दा अघि पढ्ने दिदीहरु पनि महिनावारी भएको समयमा स्कुल जाँदैन थिए,’ उहाँले भन्नुभयाे,‘महिनावारी भएको समयमा विद्यालयमा जाँदा मुर्छा पर्ने, बेहोस हुने भएका कारण पनि हामीहरु महिनावारी (छाउ) भएको समयमा  विद्यालय जान डर लाग्छ र जाँदैनौ ।’

महिनावारी भएको समयमा विद्यालय जाँदा अलग बस्नुपर्ने भएका कारण साथी-संगीहरुले जिस्काउने भएकाले धेरैजस्तो छात्राहरु विद्यालय जाँदैनन् ।

कक्षा १० अध्यनरत छात्रा मनिसा नेपालीका अनुसार महिनावारी (छाउ) भएका बेला विद्यालयमा गए देवीलाई पाठा चढाएर पुज्नपर्ने हुन्छ । पोइली घर ( श्रीमानकाे घर) गइसकेपछि पनि यो स्कुलमा पढेका छात्राहरुले अनिवार्य रुपमा पाठा दिएर देवीको पूजाआराधाना गर्नुपर्छ । 

यहाँका स्थानीय बासिन्दाले आफ्ना छोरी कसैलाई पनि महिनावारी भएको समयमा विद्यालय नपठाई घरमा नै राख्ने गरेको साइपाल गाँउपालिकाकी चम्पा पोखरेल बोहराले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘यहाँका मान्छेहरु कानुनभन्दा पनि बढी डर देवी देउताको मान्छन् । स्कुलको बिचमा भवानीको मन्दिर छ । यो विद्यालयमा पढ्ने सबै छात्राहरु महिनाको ५ दिन स्कुल आउँदैनन् ।’

विद्यालयका शिक्षक ज्ञान बहादुर बोहराले समेत महिनावारी भएको ५ दिनसम्म छात्राहरु विद्यालय नआउने गरेको बताउनुभयाे । आफूहरुले विद्यालयमा आउन आग्रह गर्दा समेत अभिभावकहरुले विद्यालयमा नपठाउँदा र स्वयम् छात्राहरु नै महिनावारी भएको समयमा विद्यालयमा आउन नमान्दा यो समस्या पहिलेदेखि नै  रहेको उहाँले बताउनु भयो ।

विद्यालयमा छात्रा शाैचालय छैन

विद्यालयमा छात्रा शाैचालय नभएका कारण पनि समस्या भएको उहाँको भनाइ छ । यस विद्यालयमा वडा नम्बर १ देखि ३ सम्मका बालबालिका अध्यन गर्न आउने गरेको स्थानीय बासिन्दाकाे भनाइ छ ।

साइपाल गाँउपालिकाका न्युना, धुली, लाफडी, काँडा, जगेरा, ज्याती, बाँझ चौका , गाँउ, माझा लासी, चुझाण, गमण्डी, लाछि, कोस्याणी, माझालासी, काया गाँउका सबै छात्राहरुको पढ्ने थलो यही विद्यालय हाे ।

यता गाँउपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले यो समस्या समाधान गर्न सुरुमा गाँउका सर्वसाधारणमा  जनचेतना फैलाउन आवश्यक रहेको बताउँदै अहिले स्थानीय तह भैसकेपछि गाँउपालिका र वडाहरुबाट विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन हुँदै आएको जानकारी दिनुभयाे ।

पहिलेको भन्दा केही कमी आफूले पाएको दावी गर्दै जान्ने बुझ्नेहरुले समेत महिनावारी भएको समयमा आफ्ना छोरी चेलीहरुलाई विद्यालय नपठाउँदा थप चुनौति भएको गुनासाे गर्नुभयाे । 

मुलुकी अपराध संहिता २०७४ को दफा १६८ मा अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुने उल्लेख छ । १६८ को उपदफा ३ मा महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछुत, वा अमानवीय व्यवहार गर्न वा गराउन हुँदैन भन्ने उल्लेख छ ।

यस्तै उपदफा ४ मा उपदफा ३ बमोजिमको कसुर गर्ने व्यक्तिलाई ३ महिनासम्म कैद वा ३ हजार रुपैया जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।

केही महिना अघि साइपाल गाँउपालिकाले छाउगोठ भत्काउने अभियान अन्तरगत छाउगोठ भत्काए पनि अहिले यहाँका महिलाहरुले आफू बस्नका लागि आफ्नै लगानीमा समेत पक्की छाउगोठ निर्माण गरेका छन् । 
 

अन्तिम अपडेट: चैत ७, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया