काठमाण्डाै उपत्यकाका विद्यार्थीलाई चीनकाे आर्थिक सहयोग

 बैशाख ३०, २०७६ सोमबार ६:४३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाैमा रहेको चिनिया राजदूतावासले काठमाण्डाै उपत्यकाका २३ वटा सरकारी विद्यालयका ३ सय ४२ जना विद्यार्थीलाई आर्थिक सहायता प्रदान गरेको छ ।

चिनिया राजदूतावास र नेपाल चीन साँस्कृतिक तथा शैक्षिक परिषद्ले ललितपुरको हात्तिवनमा रहेको लिटिल एन्जेल स्कुलमा प्रतिविद्यार्थी १० हजार रुपैयाँका दरले आर्थिक सहायता प्रदान गरेको हो । 

आर्थिक सहायता प्रदान गर्दै नेपालका लागि चिनिया राजदूत हौ यानछीले नेपाल र चीनवीच ऐतिहासिक कालदेखि प्रगाढ रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्न नेपाली विद्यार्थीले भविष्यमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपालको शैक्षिक तथा प्राविधिक क्षेत्रको विकासलाई अझ सुदृढ बनाउन होप स्टार चाइनिज एम्बास्डर स्कलरसिप कार्यक्रम सञ्चालन भइहरेको बताउनुभयो । 

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोख्रेलले नेपालको शैक्षिक क्षेत्रको विकासमा चीन सरकारले उपलब्ध गराउँदैै आएको आर्थिक तथा प्राविधिक सहयोगको लागि धन्यवाद व्यक्त गर्नुभयो ।

नेपाल चीन साँस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा. हरिसचन्द्र शाहले चिनिया राजदूतावासले सुभारम्भ गरेको छात्रवृत्तिले गरिव तथा जेहन्दार विद्यार्थीले बीचैमा विद्यालय छाड्नपर्ने अवस्था नआउने बताउनुभयो । कार्यक्रममा २३ वटै विद्यालयलाई विभिन्न शैक्षिक सामग्री समेत वितरण गरिएको थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया