खण्डहर बन्दै मुक्त हलियाका लागि बनाइएको बस्ती

 बैशाख ३१, २०७६ मंगलबार ८:३३:१९ | विमल बिष्ट
unn.prixa.net

डोटी – पूर्वीचौकी गाउँपालिका वडा नम्बर–२ बगलेकमा मुक्त हलिया पुनर्स्थापनाका लागि निर्माण गरिएको मुक्त हलियाको बस्ती दिनहुँ खण्डहर बन्दै गएको छ ।

पुस्तौँदेखि मालिकको घरमा हलो जोतेका १८ परिवारका लागि स्थापना गरिएको यो बस्तीमा मुक्त हलिया कोही पनि बस्न नरुचाएपछि बस्ती खण्डहरमा परिणत हुँदै जान थालेको हो । सरकारले यसै वर्ष मुक्त हलिया पुनर्स्थापनाको काम सक्ने बताए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । 

सरकारले निर्माण गरेको यो बस्तीमा पानी बिजुली नहुँदा मुक्त हलियाहरु बस्न नसकेको सामूहिक बस्तीमा घर भएकी मुक्त हलिया चन्नरी कोलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारले घर बनायो तर यहाँ पानी, बिजुली केही पनि छैन, हामी कसरी बस्ने ?’ हलिया बस्ती स्थापनाका लागि विद्यालय, खानेपानी, विद्युत तथा न्यूनतम विकासका पूर्वाधार हुनपर्ने कार्यविधिमा उल्लेख भए पनि बगलेकको जङ्गलमा बस्ती बसाउँदा समस्या भएको मुक्त हलियाहरु बताउँछन् । 

हलियालाई पुनः हलिया नै बनाइराख्नका लागि बगलेकको जङ्गलमा बस्ती राख्न प्रपन्च गरिएको हलिया अभियान्ता गोरखबहादुर सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हलिया सामुदायका मानिसहरुलाई हिजो कै अवस्थामा राख्न षड्यन्त्र गरी जंगलमा बस्ती बसाइएको हो ।’

मुक्त हलियापुनर्स्थापना बस्तीमा एक घर पनि मापदण्ड अनुसार नबनेको स्थानीयको आरोप छ । बस्तीमा जस्तापाताले छाएको घर भूइँतला मात्र छन् भने उचाइ ७ फिट भन्दा कम छ । भवन निर्माण भए पनि हलियाहरु घरमा बसेका छैनन् । 

कर्मचारी अभाब भएका कारण जिल्लाभरी मर्मत तथा निर्माण भएका सबै घरको अनुगमन गर्न नसकिएको घर अनुगमनको जिम्मा पाएका जिल्ला मालपोत कार्यालय डोटीका प्रमुख सुनिलसागर जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी थोरै कर्मचारी छौँ, त्यसैले प्रत्येक घरको अनुगमन गर्न सकिने अवस्था छैन, सबै कर्मचारी पूर्ति भएपछि मात्रै अनुगमन गर्न सक्छौँ ।’

दुई कोठे भवन निर्माणको नक्सा भए पनि सानो आकारको टहरा जस्तो घर निर्माण गरेर मुक्त हलियाले अनुदान लिने गरेका छन् । नेपाल सरकारले जग्गा खरिदका लागि २ लाख रुपैयाँ र घर निर्माणका लागि ३ लाख २५ हजार रुपैयाँ दिएको भए पनि घर निर्माण गर्दा करिब १ लाख १२ हजार मात्र खर्च गरेको मुक्त हलिया दीपक कोलीले बताउनुभयो । 

बस्तीमा निर्माण गरिएका घरको झ्याल ढोका समेत नभएको मुक्त हलिया समाजका पूर्व अध्यक्ष डम्मर विकले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हलिया बस्तीमा झ्याल ढोका समेत छैनन् कसरी मान्छे बस्छन् झ्याल ढोका नभएको घरमा ।’ पर्वीचौकी गाउँपालिका वडानं. २ बगलेक (बाटे ओखड) को जमिन कसरी खरिद गरियो रहस्यपूर्ण छ । विसं २०७४ असारमा नमुना हलिया बस्ती निर्माणका लागि अन्तिम तयारी गरेको अवस्थामा आर्थिक चलखेल भएको खबर बाहिरिएपछि जग्गा खरिदका लागि काटिएको ७८ लाख रुपैयाँको चेक कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा जम्मा गरिएको थियो ।

हनुमान हर्टिकल्चर प्रालिको नाममा रहेको यो जमिन विसं २०७५ असारमा फेरि १८ जनाले खरिद गरेर पास भएको छ । मुक्त हलिया बस्दै आएको ठाउँबाट एक घण्टाको दूरीमा रहेको यो जमिन सुबिधा नरहेको जानकारी हुँदाहुँदै पनि किन खरिद गरियो यो भने रहस्यको विषय बनेको छ । 

पूर्वीचौकी गाउँपालिका वडा नम्बर २ बगलेक र दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ मा मुक्त हलियाका ३० परिवारकोपुनर्स्थापनाका लागि जग्गा खरिद तथा घर निर्माण गरिएको छ । प्रति परिवार ५ लाख २५ हजारको लगानी भएको भए पनि हाल उनिहरु पुरानो घरमा बस्दै आएको हलिया अगुवा डम्मर बिकले बताउनुभयो । 

उहाँका अनुसार ३० परिवारमा मात्र नेपाल सरकारले १ करोड ५७ लाख ५० हजार लगानी गरेपनि हलिया भने लालपूर्जा नभएको जमिनमा बस्दै आएका छन् । उनीहरुका लागि निर्माण गरेका घर जीर्ण बन्दै जाँदासमेत कसैले चासो देखाएका छैनन् । 


 

अन्तिम अपडेट: चैत १६, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया