केरुङबाट काठमाडौं एक पटक सुन ल्याएको ५० हजार

 असार १८, २०७५ सोमबार २०:६:२० | रासस

काठमाडौं – चीनको केरुङ नाका हुँदै एक खेप सुन काठमाडौं ल्याएको भरियाले ५० हजार रुपैयाँ लिने गरेको खुलासा भएको छ । 

आइतबार राति केरुङ नाका हुँदै नेपाल ल्याएको ६ किलोग्राम सुनसहित पक्राउ परेका सिन्धुपाल्चोकका २३ वर्षीय तेन्जिङ तामाङले एक खेपको  ५० हजार रुपैयाँ लिने सर्तमा सुन ल्याएको प्रहरी सामु खुलाएका छन् । 

महानगरीय प्रहरी प्रभाग नागढुंगाका प्रमुख केशवराज भट्ट नेतृत्वको टोलीले आइतबार बा ९५ प ८१६४ नम्बरको कालो पल्सर मोटरसाइकलमा कम्मरमा खैरो कालो छिर्के मिर्के रंगको लेडिज सलभित्र ६ किलोग्राम सुनसहित तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो । 

परिसरका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले सुन पठाउने चिनियाँ व्यापारी भएको र चीनबाट काठमाडौं ल्याएबापत एक पटकमा ५० हजार दिने सर्तमा तामाङले सुन काठमाडौँ ल्याएको अनुसन्धानबाट खुलेको बताउनुभयो । ‘सुन स्वयम्भुसम्म पुर्‍याउने र स्वयम्भूमा पुगेपछि अर्को मान्छेले फोन गरेर सुन लिन आउँछ भनेर चिनियाँ व्यापारीले सुन पठाएको समेत अनुसन्धानबाट खुलेको छ’,उहाँले भन्नुभयो । 

प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले पछिल्लो समय केरुङ नाका हुँदै धेरै सुन काठमाडौंलगायत देशका विभिन्न भागमा भित्रिने गरेको भन्दै प्रहरीले विशेष निगरानी राखेको बताउनुभयो । उहाँले शनिबार भारत लैजाँदै गर्दा नागढुंगाबाट समातेको सुन र हिजो चीनबाट ल्याएको सुनमा कुनै सम्बन्ध नभएको पनि जानकारी दिनुभयो । 

परिसरले शनिबार नागढुंगाबाट तीन किलोग्राम सुनसहित चार भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरिसकेको छ । 

भन्सार ऐन २०६४ को दफा ५७ (१) (ङ) बमोजिम अवैध रुपमा सुन ओसारपसार गर्नेलाई विगो र एक वर्षदेखि तीन वर्षसम्म कैद हुने व्यवस्था छ । 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया