ओखलढुङ्गामा स्रष्टा पार्क

 जेठ ९, २०७६ बिहिबार १६:४३:५० | शिव ढुंगाना
unn.prixa.net

ओखलढुङ्गा– राष्ट्रिपति विद्यादेवी भण्डारीले देश सामाजिक न्याय र समानतामा आधारित समृद्धितर्फ अग्रसर भएको बताउनुभएको छ । स्वर्गीय युगकवि सिद्धिचरण श्रेष्ठको पूर्ण कदको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रको ध्येय देशको समृद्धि भएको बताउनुभएको हो ।  

अथाह प्राकृतिक र सांस्कृति वैभवले सम्पन्न ओखलढुंगाजस्ता पहाडी जिल्लाको विकासबाटै समृद्ध नेपाल निर्माण हुने राष्ट्रपतिको भनाइ छ । सांस्कृतिक, पर्यटकीय क्षेत्रको विकास, नदी प्रणाली सदुपयोग गरेर अथाह जलविद्युत आयोजनाहरु निर्माण गर्न सक्नेतर्फ प्रदेश सरकार र स्थानीय सरकार अघि बढ्न पनि राष्ट्रपतिले सुझाव दिनुभएको छ ।  

देश अहिले समृद्धिको बाटोमा अग्रसर रहेको बताउँदै भण्डारीले प्रदेश सरकारले गुणस्तरीय प्राविधिक शिक्षामार्फत सक्षम जनशक्ति उत्पादन, उद्योगग्रामको विकास गरेर स्थानीय समुदायमा रोजगारी सृजना गर्न अग्रसर हुनु पर्नेमा जोड दिनुभयो । सडक सञ्जालको विस्तार र सुदृढिकरण, खानेपानीको यथोचिथ वितरण, पहाडी जिल्लामा एकिकृत वस्ती विकास गरेर  कम लगतैमा सेवा दिन सकेमा समृद्धिको नारा सार्थक हुने उहाँको भनाइ छ ।  

शालिक अनावरण र नवनिर्मित स्रष्टा पार्क उद्घाटनपछि भण्डारीले ओखलढुङ्गाको स्रस्टा पार्कले साहित्यिक र सांस्कृतिक पर्यटन प्रबर्धनमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो ।  ओखलढुंगालाई चिनाउने सिद्धिचरणको कविता प्रशंसा गर्दै भण्डारीले यगुकविका साहित्य सिर्जनाले प्रकृति र मातृभूमिप्रति अगाध माया र आस्था जगाउन प्रेरणा दिने भन्दै साहित्य सिर्जनाले युगवोध गर्न सफल भएको बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘समाजप्रतिको निष्ठा र राष्ट्रप्रतिको अगाध प्रेमले युगयुगसम्म नेपालीलाई असल कार्यमा जुट्न प्रेरित गरेको छ ।’

साहित्य सिर्जनाको माध्यमबाट योगदान पुर्याउने विभिन्न सर्जकहरुलाई सम्मान र पुरस्कृत गर्दै राष्ट्रपति भण्डारीले देश सामाजिक न्याय र समानतामा आधारित समृद्धिको दिशातर्फ अग्रसर भएको अवस्थामा साहित्यकार, कलाकार तथा सर्जकहरुले आफ्ना सृजनामार्फत आम जनसमुदायमा आफ्नो भविश्यप्रति दृढ जगाउने सन्देश प्रवाह गर्नु पर्नेमा जोड दिनुभएको छ । 

सिद्धिचरण नगरपालिका र युगकवि सिद्धिचरण प्रतिष्ठानले आयोजना गरेको युगकवि सिद्धिचरण श्रेष्ठको पूर्ण कदको शालिक अनावरण तथा स्रस्टा पार्क उद्घाटन कार्यक्रममा सहभागी हुन उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईसहित नेपाली सेनाको हेलिकप्टरमार्फत राष्ट्रपति भण्डारी बिहीबार बिहान ११ः२० बजे ओखलढुंगा आउनुभएको थियो राष्ट्रपति बिहीबार ३ बजे काठमाण्डौ फर्किनु भएको छ । 

सिद्धिचरणको जन्मस्थान, सिद्धिचरण नगरपालिका–१२ मा रहेको अर्धकदको शालिक विस्थापन गरेर पूर्ण कदको शालिक निर्माण गरिएको छ । 

त्यस्तै स्रष्टा पार्कमा प्रथम गायिक मेलवादेवी, लोकगायक पाण्डव सुनुवार, सिद्धिचरण श्रेष्ठ र राष्ट्रिय गानका रचनाकार व्याकुल माइलाको अर्धकदको प्रतिमा तथा उद्यान निर्माण गरिएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको बजेट तथा सिद्धिचरण नगरपालिकासँग समन्वय गरेर पार्क निर्माण गरिएको पार्क निर्माणको अगुवाइ गरेका संघीय प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवारले जानकारी दिनुभयो । 

 

 

अन्तिम अपडेट: चैत १०, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया