वालिङ नगरपालिकाका सात विद्यालय समायोजन, नौ को तह घटाइयो

 जेठ १४, २०७६ मंगलबार १३:११:० | राधाकृष्ण डुम्रे

स्याङ्जा - नयाँ शैक्षिक सत्रको सुरुवातसँगै वालिङ नगरपालिकाका सात सामुदायिक विद्यालय एक आपसमा समायोजन गरिएको छ भने नौ वटाको तह घटाइएको छ ।

स्मार्ट नगर घोषणा भएर कार्यान्वयनको चरणमा रहेको वालिङ नगरपालिकाले विद्यालय शिक्षा (१–१२) कक्षा स्थानीयतहको अधिकारभित्र आएसँगै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि विद्यालयहरु एकापसमा समायोजन गरेको हो ।

नयाँ चालु शैक्षिक सत्रको सुरुवात चरणमै पाँच वटा सामुदायिक विद्यालय समायोजन गरेर जिल्लामै पहिलो नमुना अभ्यास गरेको वालिङले थप दुई वटा सामुदायिक विद्यालय समायोजन तथा नौ वटाको तह घटाउने निर्णय गरेको हो ।
 
वालिङ नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव बाबुराम सापकोटाका अनुसार समायोजनमा परेका विद्यालयहरुमा पञ्चमुल आधारभूत विद्यालय वालिङ-११ र जन्मभूमि आधारभूत विद्यालय वालिङ-९ रहेका छन् ।

कक्षा १ देखि ५ सम्म पठनपाठन हुँदै आएको वालिङ ११ को पञ्चमुल आधारभूत विद्यालयलाई नजिकको पायक पर्ने टापु भञ्ज्याङ राष्ट्रिय माध्यमिक विद्यालयमा समायोजन गरिएको छ । कक्षा १ देखि ५ सम्म पठन पाठन हुने वालिङ-९ को जन्मभूमि आधारभूत विद्यालयलाई वालिङ-९ कै भुम्रे माध्यमिक विद्यालयमा समायोजन गरिएको शिक्षा शाखा प्रमुख सापकोटाले बताउनुभयो ।
 
तह घटेका विद्यालयहरुमा एउटा मुटु भञ्ज्याङ आधारभूत विद्यालय वालिङ-१३ रहेको छ । यो विद्यालयमा कक्षा १ देखि ६ सम्म पठन पाठन हुँदै आएको कक्षा ५ सम्म पठन पाठन हुने गरी तह घटाइएको शिक्षा शाखा अधिकृत प्रकाशबन्धु अर्यालले बताउनुभयो ।
 
अर्यालका अनुसार वालिङ-६ मा रहेको वनपाला आधारभूत विद्यालय, प्रभात आधारभूत विद्यालय वालिङ-१२, अमर आधारभूत विद्यालय वालिङ-१४, भविष्य उज्ज्वल आधारभूत विद्यालय वालिङ -१४, फूलबारी आधारभूत विद्यालय वालिङ-१४ र वडा नं. ५ मा रहेको कालिका आधारभूत विद्यालयमा कक्षा १–५ पठन पाठन हुँदै आएकोमा तह घटाएर १–३ बनाइएको छ ।
 
वालिङ ४ मा रहेको मदन आश्रित आधारभूत विद्यालय र वालिङ ११ मा रहेको गणेशमान स्मृति आधारभूत विद्यालयमा कक्षा १–४ मा पठन पाठन हुँदै आएकोमा तह घटाएर १–३ बनाइएको शिक्षा शाखा अधिकृत अर्यालले बताउनुभयो ।
 
चालु शैक्षिक सत्रको सुरुवात चरणमा समायोजन हुने विद्यालयहरुमा शारदा आधारभूत विद्यालय वालिङ-२, राम्चेदेवी आधारभूत विद्यालय वालिङ-३, कालिकादेवी आधारभूत विद्यालय वालिङ-१२, भगवती आधारभूत विद्यालय वालिङ-१३ र चन्द्रज्योति आधारभूत विद्यालय वालिङ -१३ रहेका छन् ।
 
शारदा, राम्चेदेवी र चन्द्रज्योतिमा १–५ कक्षा सञ्चालन भएको थियो भने कालिकादेवी र भगवतीमा १–३ कक्षा सञ्चालनमा थियो ।
 
शारदालाई बाँसपानी आधारभूत विद्यालय, राम्चेदेवीलाई माझकोट माध्यमिक विद्यालय, कालिकादेवीलाई सिर्सेकोट देउराली आधारभूत विद्यालय, भगवतीलाई मुटुभञ्ज्याङ आधारभूत विद्यालय र चन्द्रज्योतिलाई लक्ष्मी माध्यमिक विद्यालयमा समायोजन गरिएको थियो ।
 
विद्यार्थी सङ्ख्या न्यून हुनु एउटा कारण हो भने अर्को कारण भौगोलिक विकटता हो” वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले भन्नुभयो, “शिक्षामा गुणस्तर बृद्धिका लागि विद्यालय समायोजन गरिएको हो ।
 
नयाँ शैक्षिक सत्रको सुरुआतसँगै पहिलो चरणमा पाँच वटा सामुदायिक विद्यालय समायोजन गरिएको र दोस्रो चरणमा दुई वटा सामुदायिक विद्यालय समायोजन तथा नौ वटाको तह घटाएको नगर प्रमुख खाँणले बताउनुभयो । ‘विद्यालयहरुलाई एक आपसमा समायोजन गरी शैक्षिक ब्यवस्थापन प्रणालीलाई मजबुत बनाउने हाम्रो उद्धेश्य हो,’ नगर प्रमुख खाँणले भन्नुभयो, ‘न्यूनतम मापदण्ड नपुगेका विद्यालयहरुलाई मात्रै समायोजनको प्रक्रियामा लगिएको छ ।’
 
वालिङ नगरपालिकाभित्र कूल ८० वटा सामुदायिक विद्यालय रहेकामा सात वटा समायोजन भएसँगै अब ७३ वटा रहेका छन् । शिक्षा शाखा प्रमुख सापकोटाका अनुसार वालिङ नगरभित्रका १४ वटै वडामा सामुदायिकतर्फ माध्यमिक विद्यालय १६ वटा र आधारभूत विद्यालयहरु ५७ वटा रहेका छन् । त्यस्तै संस्थागत विद्यालयको सङ्ख्या १७ रहेको छ भने धार्मिक प्रकृतिको मदरशा एउटा दर्ता छ ।
 
शिक्षा शाखाले आगामी आर्थिक वर्ष २०७६-०७७ का लागि नगर कार्यपालिकालाई शैक्षिक गुणस्तर वृद्धिका लागि विभिन्न ५० बू'दे कार्यक्रमहरु प्रस्ताव गरेको शिक्षा शाखा प्रमुख सापकोटाले बताउनुभयो ।
 
नगर कार्यपालिकाले बनाउने आगामी नीति तथा कार्यक्रममा समावेश गर्नका लागि बालमैत्री विद्यालय ब्यवस्थापन, दिवा खाजाको व्यवस्था, नैतिक शिक्षा प्रदान, सेनेटरी प्याडको ब्यवस्था, एक शिक्षक एक झोला कार्यक्रम, एक विद्यालय एक पुस्तकालय, इ–लाईब्रेरीको ब्यवस्था, जङ्क फूड निषेध, प्राथमिक उपचार बाकसको ब्यवस्था, स्थानीय पाठ्यक्रम निर्माणजस्ता ५० वटा बूँदाहरु समेटिएको प्रस्ताव पेश गरेको शाखा प्रमुख सापकोटाले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ८, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया