डोटीको केदारअखडा प्राथमिक स्वास्थ्य चौकी एक वर्षदेखि डाक्टरविहीन

 जेठ १४, २०७६ मंगलबार १४:२४:१८ | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटी जिल्लाको दक्षिण क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकामा रहेको केदारअखडा प्राथमिक स्वाथ्य केन्द्रमा डाक्टर नआएको एक वर्ष बितिसकेको छ ।

यस प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी भएपनि एक वर्षदेखि डाक्टर नआउँदा स्थानीयहरु स्वास्थ्य सेवा पाउनबाट वञ्चित भएका छन् । स्वास्थ्य केन्द्रमा एमबीबीएस डाक्टरको दरबन्दी रहेको छ । डाक्टर नहुँदा त्यहाँका स्थानीयले सामान्यदेखि जटिल प्रकारका राेगको उपचारका लागि घण्टाैँ लगाएर दिपायल, सिलगढी तथा जिल्ला बाहिर जानुपर्ने अवस्था आएको स्थानीय बमबहादुर बमले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘स्वास्थ्य केन्द्रमा डाक्टरको दरबन्दी छ तर उपचार गराउन हामीले जिल्ला बाहिर जानुपर्ने अवस्था छ, हाम्रा दुःख कस्ले बुझिदिने ?’

स्वास्थ्य केन्द्रमा एकजना डाक्टरसहित अन्य १२ जना कर्मचारीको दरबन्दी रहेकोमा हाल १० जना मात्रै कर्मचारीहरु कार्यरत रहेका छन् । डाक्टर नभएपछि अन्य कर्मचारी पनि कार्यालयमा नियमित नआउने गरेकाे स्थानीयको आरोप छ ।

भौगोलिक विकटताका कारण प्राथमिक स्वास्थ्य चौकीमा डाक्टर आउन नमानेपछि समस्या हुँदै आएको बोगटान फुड्सिल गाँउपालिकाका अध्यक्ष कमल गड्सिलाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘भौगोलिक विकटताले डाक्टर आउन मानेका छैनन्, हामी डाक्टर ल्याउने प्रयासमा छौँ,चाँडै ल्याउने छौँ ।’ 

यस स्वास्थ्य संस्थामा डाक्टर ल्याउनका गाउँपालिकाले प्रदेश सरकारसँग समन्वय गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर सुचिकारले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया