'बिरामी हुँदा छाेराकाे हातबाट सिटामाेल खाने सपना अधुरै रह्याे'

 जेठ १४, २०७६ मंगलबार २०:४३:२२ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – जयपृथ्वी नगरपालिका वडा नम्बर–१, कैलाश घर भएका विजय शाहीका जेठा छोरा हुन् प्रज्ज्वल । उनको जन्म २०५१ सालमा आमा जानकीदेवी शाहीको कोख बाट जन्म भएको थियो । शाही अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सदस्यसमेत थिए ।  

उनी बझाङबाट उच्च शिक्षा अध्ययनका लागि काठमाण्डौ छिरेका थिए । उनले २ भाइ विवश र विश्वजन र २ बहिनी मनिषा र कलशालाई पनि काठमाण्डौमै पढाउन लगेका थिए ।

सीटीईभीटीबाट सम्बन्धन प्राप्त ओम समाज कलेजबाट एचए  सकाएका उनी कलेज पढ्दादेखि नै विद्यार्थी राजनीतिमा सक्रिय थिए । पढाइ सकेर  केही समय मेडिकल पसल सञ्चालन गरेका उनीमा राजनीतिलाई बुझ्ने र प्रयोग गर्ने कला भरपुर देखिन्थ्यो । 

गोरो र उज्यालो अनुहारका प्रज्ज्वल नामजस्तै उज्याला र हँसिला थिए । सबैसँग उत्तिकै घुलमिल हुने शाहीको मृत्युको खबरले कैलाश पिमी गाउ शोकमा डुबेको छ । सहनशील, लगनशील र निश्चल स्वाभावका शाहीको मृत्युले  गाउँका धेरै मानिसको मन रुवाएको छ । उनको परिवारलाई  यो घटना अपत्यारिलो लागेको छ । 

‘छोरा प्रज्ज्वल घरमा आँउदा अब हाम्रा दुःखका दिन गए भन्दै हामीलाई मख्ख बनाउँथ्यो । बुढेसकालमा तपाईँलाई केही पनि दुःख हुन दिन्न आमा भन्थ्यो’, प्रज्ज्वलकी आमा जानकीदेवी शाही भक्कानिँदै छोराको कुरा सम्झनुहुन्छ ।

‘अब हाम्रा लागि मात्रै हैन आमा देशका लागि नै सोच्नु पर्छ भन्थ्यो । दशैँको टीकाको दिन सामान्य कुराकानी गर्दा हामी जस्ता दुःखी गरिबहरुका लागि अब मजस्तै छोराहरुले लड्ने हो आमा भनेको थियो । त्यो क्षणमा मैले छोराले ठिकै भन्यो क्यारे भन्ठानेकी थिए । तर मैले छोरा के काम गरिरहेको छ कस्तो बाटोमा हिँड्दै छ भनेर कहिल्यै पनि राम्रोसँग सोधिनँ । राम्रै काम छ, भाइबहिनी र हजुरहरुको जिम्मा अब मेरो भयो भनेको थियो । हो, काम पनि त्यस्तै गरेको थियो ।  के थाहा  दैव यति चाँडै निष्ठुरी होला भनेर । फागुन महिनाको अन्तिम भेट रहेछ छोरासँग । घरमा राम्रोसँग बस्न पनि बसेन । दुईचार दिन मात्रै घरमा बसेर फेरि काठमाण्डौ गइहाल्यो’, जानकीदेवीले भन्नुभयो ।  

प्रज्ज्वलले आफूहरु देश बनाउने राम्रै काममा लागेको बताउँदै बुवा विजय शाही भन्नुहुन्छ, ‘हामीहरु अब देशमा केही हुँदैन होला । शान्ति भैसकेको छ । यस्तो बम बारुदले कसैले पनि मर्न पर्दैन भनेर ढुक्क थियौँ । यस्तो घटनाको कल्पनासम्म समेत गर्न सकेका थिएनौँ । मेरो छोराले नै बममा परेर मर्नुपर्यो । मेरो छोरा त बितिसक्यो । मेरा सबै सपना छोरासँगै मरेर गए । सबै सपना अधुरा नै रहे । बुढेसकालमा बिरामी हुँदा छोराको हातबाट सिटामोल खान पाउँला भन्ने ठूलो धोको थियो । अब भनेर साध्य नै छैन । तर अब यसरी कसैले पनि मर्न नपरोस् । हाम्रो बुढेसकालको सहारा त्यही जेठो छोरा थियो । अब हामी त केबल जिउँदो लास भएर बाँच्नु पर्ने भयो  । छोराको लाससम्म समेत देख्न पाएनौँ ।’ 

गाउँ नै शोकमा 

काठमाण्डौको घट्टेकुलोमा बम विस्फोटमा परि भौतिक जीवन गुमाएका एक युवा प्रज्ज्वल शाहीको मृत्युको खबरले परिवार नै शोकमा डुबेको छ । उनी नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपा निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य थिए । आफ्ना कार्यकर्ता तीर्थराज घिमिरेको गिरफ्तार गरी हत्या भएको भन्दै नेकपाले १३ गते सोमबारका लागि घोषणा गरेको थियो ।

बन्दको अघिल्लो दिन अर्थात  १२ गते आइतबार अपरान्ह लोकमन्जरी कार्कीको घरमा बम विस्फोट भएसँगै शाहीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रज्ज्वल शाहीको मृत्यु भएको समाचार आएपछि सामाजिक सञ्जाल नै स्तब्धताले भरिएको छ ।

शाहीको मृत्युले परिवारको बिचल्ली भएको छ । परिवारको जिम्मेवारी आफूले बोकेका शाहीका भाइ बहिनीको पढाइ पनि चौपट पर्ने भएको उनका मामा नाता पर्ने नरेश सिंहले बताउनुभयो । उनको घरमा बुवाले सामान्य गाउँमा व्यापारले छोराछोरीको पढाइ खर्च धान्न नसकिने उनका आफन्तले बताएका छन् ।

उनका भाइ बहिनी काठमाण्डौ गएको सात वर्ष पुगिसकेको छ । अब उनका भाइ बहिनीलाई दाइको मृत्युले बीच बाटैमा  बिचल्ली पारेको छ । भाइ बहिनीको अभिभावक भएर बसेका शाहीले  बीच बाटोमै चटक्क छोडेर गएपछि उनका भाइ बहिनीको उच्च शिक्षामा समेत बिराम लाग्ने हो कि भन्ने डर आमाबुवालाई रहेको छ ।  

अन्तिम अपडेट: बैशाख १, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया