दुई गाउँपालिकाबीच यार्सा संकलनकाे विवाद मिल्यो

 जेठ १५, २०७६ बुधबार १४:२०:३६ | डीबी बिष्ट

बझाङ - यार्सा संकलनका बारेमा उब्जिएकाे दुई गाउँपालिकाबीचकाे विवाद मिलेको छ ।

साइपाल गाउँपालिका र तल्कोट गाउँपालिकाका उपभोक्ताबीच यार्सा संकलन गर्ने वनका बारेमा करिब एक महिना देखि विवाद हुँदै आएको थियो । जिल्लाको दुर्गम मानिने साइपाल गाँउपालिका वडा नम्बर-३ काँडाका स्थानीय बासिन्दाले आफूहरुको सामुदायिक वन फरालिखेतका यार्सा संकलनमा रोक लगाएपछि तल्कोट गाउँपालिका वडा नम्बर-४ पनाल्तका स्थानीय बासिन्दाहरुले साइपालका स्थानीय हिँड्ने मुख्य बाटो नै बन्द गरेका थिए ।

विवादले उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालयले दुवै पक्षलाई जिल्ला प्रशासन कार्यालय बझाङमा बोलाएर तीन बुँदे सहमति गरेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताउनुभयाे । साइपाल गाँउपालिकाका स्थानीय बासिन्दाहरुले आफूहरुको सामुदायिक वनमा अरुले यार्सा संकलन गर्न नपाउने भनेपछि विवाद बढेको थियो ।

साइपाल गाँउपालिका वडा नम्बर-३ का स्थानीय बासिन्दाहरुले राष्ट्रिय वनलाई समेत सामुदायिक वन भन्दै यार्सा संकलनमा रोक लगाएको यहाँका स्थानीयकाे आरोप छ । 

मंगलबार प्रमुख जिल्ला अधिकारी सुरेश सुनारको संयोजकत्वमा बसेको दुई पक्षीय सहमतिमा फरालीखेत सामुदायिक वनमा बाहिरका यार्सा संकलकहरुले यार्सा संकलन गर्न नपाउने, आउँदा दिनमा बाटो बन्द गर्न कसैले पनि नपाउने र राष्ट्रिय वन र सामुदायिक वन छुट्याउन लागि डिभिजन वन कार्यालय बझाङबाट टोली खटाइने सहमति भएको प्रमुख जिल्ला अधिकारी सुनारले बताउनुभयाे ।


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया