भारतमा नेपालीबाटै लुटिए नेपाली :  खाेलामा फालिएका राजबहादुर ५२ घण्टापछि हाेसमा आए

 जेठ २४, २०७६ शुक्रबार १५:२३:४० | नेत्र शाही
unn.prixa.net

राजबहादुर सिंह भेटिएपछि खोजीमा गएका सिंह परिवारका चार भाइ   तस्बिर – जितबहादर सिंह

जुम्ला – जुम्लाको तिला गाउँपालिका–४, कुडारी गाउँका ५२ वर्षीय राजबहादुर सिंह भारतको उत्तराखण्डको तेहरी जिल्लाको चम्बा भन्ने  ठाउँमा ८ महिना अघिदेखि मजदुरी गर्दै आउनु भएको थियो ।

चम्बा बजारको दिमिल गल्लीमा ज्यालादारीमा काम गर्दै आएका सिंह घर फर्केने क्रममा बाटैमा लुटिनु भएको छ ।

जेठ १९ गते दिउँसो ३ बजे तेहरी जिल्लाको ऋषिकेश बसपार्कमा नेपाल आउने क्रममा अपरिचत दुई जना नेपालीसँग उहाँको भेट भयो । परदेशमा नेपाली साथी भेटिएपछि उहाँलाई समय काट्ने अवसर त मिल्यो । तीनै साथीले बेलुकी ७ बजेतिर चुरोट र कोक खुवाए । उनीहरुले कोक र चुरोट मात्रै खुवाएनन् नेपाली साथीलाई रसायन सुँघाएर बेहोसै बनाए । अनि ८ महिनासम्म हाडछाला घोटेर कमाएको झण्डै एक लाख ५० हजार रुपैयाँ लुटेर राजबहादुरलाई खोलामा फालिदिए । 

राजबहादुरका भाइ शुरबहादुर सिंहले घटनाका बारेमा जानकारी दिँदै भन्नुहुन्छ, ‘विषादी सुँघाएर दाइलाई लुटेका रहेछन् । अनि मर्यो भनेर खोलामा फालिदिएका रहेछन् ।’ 

बसपार्कमा चिनजान भएका नेपाली साथीले नै खोलामा मर्यो भनेर फालेको ५२ घण्टापछि राजबहादुर होसमा आउनुभयो । अनि बामे सर्दै बसपार्कसम्म पुग्नुभयो ।

जेठ २१ गते होसमा आएपछि बिरामी अवस्थाका सिंहलाई नेपाली चालकले चिया खुवाएर उहाँ काम गर्ने स्थानमा उद्धार गरी पुराएका थिए । यसरी दाजु राजबहादुरले पुनर्जीवन पाउनुभएको टेलिफोनमा भावुक हुदै भाइ शुरबहादुर सिंहले  उज्यालोलाई जानकारी दिनुभयो । 

जेठ १९ गते घर फर्किने भन्दै तेहरी जिल्लाको ऋषिकेशमा गाडी कुरिरहेका अवस्थामा नास्ता खाने भन्दै गएका राजबहादुर सिंहसँगैका साथी नेपाल पुगिसकेपछि उहाँ हराएको थाहा भएको थियो । 

त्यसपछि दाजु हराएको खबर थाहा पाएर उहाँका ३ भाइ खोजीमा तेहरी पुगे । अहिले राजबहादुर र ३ भाइको भेट भएको छ । उहाँको अनुहारमा निलो घाउ रहेको छ ।  उहाँको कान च्यातिएको र शरीरभरि निलडाम रहेको अर्का भाइ जितबहादुर सिंहले बताउनुभयो ।  अहिले त्यहाँको प्रहरीमा रिर्पोट गरिएको छ । स्थानीय प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जितबहादुर सिंहले जानकारी दिनुभयो ।  

‘खाना खाने क्रममा दुई जना नेपाली भेटिएका थिए ।  चुरोट र कोकाकोलामा पनि विष हालेका रहेछन्, मलाई थाहा नै भएन’, पीडित राजबहादुर सिंहले रुँदै टेलिफोनमा भन्नुभयो, ‘जेठ १९ गते बेलुकी ७ बजे मलाई खोलामा फालेका रहेछन् । जेठ २१ गते होसमा आएँ ।’ 

कालिकोटको शुभ गाउँपालिकाका एक जना व्यक्ति पनि ऋषिकेश क्षेत्रबाटै बेपत्ता  भएका थिए । ऋषिकेश क्षेत्रमा धेरै नेपाली काम गर्छन् । तर दुःखसुखमा साथ दिने नेपाली धेरै भेटिए पनि केही भने दुःख दिने खालका रहेका छन् । परदेशमा कमाउन गएका नेपालीलाई नेपालीले नै ठग्ने घटना बढ्दै गएको छ । 

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया