जुम्लामा डाक्टर केसीको आमरण अनसन र समाधान

 असार २१, २०७५ बिहिबार ११:२१:३५ | नेत्र शाही
unn.prixa.net

डाक्टर गोविन्द केसीले स्वास्थ्य क्षेत्रका विकृतिविरुद्ध आफ्नो १५ औँ अनसन जुम्लामा गर्ने घोषणा काठमाडौंमा गर्दा धेरै कर्णालीबासीले पत्याएका थिएनन् । त्यति धेरै जोखिम रहेको ठाउँमा अनसन बस्न उनी काठमाडौंबाट के आउँथे र ? भन्ने धेरै थिए । तर, डाक्टर केसी सार्वजनिक जीप चढेर टुप्लुक्क जुम्ला पुगेपछि भने नपत्याएर सुख भएन ।
 
उहाँ, काठमाडौबाट हिँडेको थाहा पाएसँगै पत्रकार र नागरिक समाजका अगुवाहरुले उहाँको ‘फलोअप’ शुरु गरे । डाक्टर केसीले कर्णालीको स्वास्थ्य उपचारको गुणस्तर सुधार गर्नुपर्ने मागलाई प्राथमिकता दिएपछि आफ्नो क्षेत्रमा केही होला कि भन्ने आशा कर्णालीबासीमा जागेको थियो । तर केसी जुम्ला पुगेपछि जिल्ला प्रशासन कार्यालयको धपेडी भने बढ्यो । कसरी उहाँको अनशन रोक्ने भन्ने कुराले प्रमुख जिल्ला अधिकारी र स्थानीय सुरक्षा अधिकारीहरुको टाउको दुख्यो  ।

डाक्टर केसी जुम्ला पुग्नेबित्तिकै प्रशासनले सूचना जारी गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल सहित जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको दुईसय मिटर वरपर अनसन लगायत विरोधका कार्यक्रम गर्न नपाइने उर्दी जारी गर्यो ।

असार १६ गते डाक्टर केसी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै अनसन बस्न हिँडेपछि बाटोमै प्रहरीले रोक्यो । त्यसको विरोधमा जिल्ला प्रशासन कार्यालय बाहिर प्रदर्शन गर्ने क्रममा उहाँलाई प्रहरीले पक्रियो । उहाँले जिल्ला प्रहरी कार्यालयमै अनसन शुरु भएको घोषणा गर्नुभयो,  केही घण्टापछि प्रहरीले छोडिदिएको कवर्डहलमा निरन्तरता दिनुभयो ।

विगतभन्दा जोखिमपूर्ण अनसन

डाक्टर केसीका विगतका अनसनभन्दा यसपटकको अनसन बढी जोखिममा रहेको डाक्टरहरु बताउँछन् ।काठमाडौंमा १५ दिन र जुम्लामा ५ दिन अनसन बस्नु एउटै भएको उनीहरुको भनाई छ ।

खुला र दुर्गन्धित हल, सिमेन्टमाथि सामान्य फमको ओछ्यान, ५ दिनदेखि पानी समेत नखाएको अवस्था अनि झरीका कारण जुम्लामा बढेको चिसो जस्ता कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सकको टोलीले अवस्था जोखिमपूर्ण रहने ठहर गरेपछि एकातिर केसीको आनाकानी र अर्कातिर स्थानीय प्रशासनको बन्देजको वास्ता नगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सीमा भर्ना गराएको छ ।

अनसनप्रति जुम्ला मात्र होइन सिंगो कर्णालीका नागरिकको समर्थन बढिरहेको छ । डाक्टर केसीको शुभचिन्तकहरुले अनसनस्थल परिवर्तन गर्न र अलि सुबिस्ता हुने ठाउँमा अनसन बस्न आग्रह गरेपनि डाक्टर केसी राज्यले आफूलाई कैदी जस्तै बनाएर कवर्डहलमा पुरयाएकाले मरेपनि अनसनस्थल नछोड्ने अडानमा हुनुहुन्छ ।
 
डाक्टर केसीको १५ औ सत्याग्रह परिवर्तनको आरम्भको संकेत पनि हो । किनकी सामान्य स्वास्थ्य अवस्थाको अनुभव लिन नपाएको विगतको जुम्लाको इतिहासमा कोसेढुंगाको रुपमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान उदाउँदै गर्दा केसीका प्रमुख ७ मागमध्ये कर्णाली प्रतिष्ठानमा डाक्टरीको उच्च शिक्षा अध्ययन अध्यापन गराउन पूर्वाधार बनाउनुपर्ने रहेको छ । यसले प्रतिष्ठानको मात्र होइन, समग्र कर्णालीकै स्वास्थ्य क्षेत्रको विकासमा कोशेढुँगाको काम गर्ने आशा धेरैको छ ।

डाक्टर केसीको सत्याग्रहको विषयमा सरोकारवाला निकाय पनि तातिएका छन् । राष्ट्रिय मानव अधिकर आयोग उपक्षेत्रीय कार्यालय जुम्लाले समेत जिल्ला प्रशासन कार्यालयलाई डाक्टर केसीको जीवनरक्षाका लागि स्थान परिवर्तन गर्न तथा आवश्यक उपचारको लागि पहल गर्न पत्राचार नै गरेको छ । कार्यालयका निमित्त प्रमुख शाहीको टोलीले निरन्तर केसी सत्याग्रको अवलोकन गरिरहेको छ  ।
 
नेपाल चिकित्सक संघको आह्वानमा मंगलवारदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका डाक्टरले आकश्मिक सेवा वाहेक अरु सवै काम गर्न छोडिसकेका छन् । स्थानीयवासीले सरकारको विरोध र केसीको समर्थनमा अर्धनग्न जुलस समेत प्रदर्शन गरेका छन् ।

के भन्छ स्थानीय प्रशासन ? 

डाक्टर केसीको अनसन रोक्न निषेधाज्ञा तोकेको स्थानीय प्रशासनले उहाँको उपचारमा ध्यान नदिएको केसीका समर्थक मात्र होइन मानवअधिकार आयोगको पनि ठहर छ । माथिको आदेशको पालना गरेको भन्दै स्थानीय प्रशासनले प्रदर्शन गर्न नपाइने सूचना तत्काल फिर्ता लिने सम्भावना नरहेको बताउँदै आएको छ ।

 जुम्लाका प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले केसीसँग स्थानीय प्रशासनको लडाई नभएको र उहाँको जीवनरक्षाको लागि काम गरिरहेको बताउनुभयो ।

केसीको जीवन रक्षा र स्वास्थ्य उपचारका लागि केन्द्रसँग समन्वय भइरहेको तर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरले सरकारको तलब खाएर अस्पतालको काम ठप्प पार्न नहुने प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ ।

समाधान कसरी ?

डाक्टर केसीको अभियान राष्ट्रियस्तरको सवाल हो । उहाँले उठाएका धेरै विषय केन्द्र सरकारले मात्र पूरा गर्न सक्ने खालका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकै सन्दर्भ पनि जिल्ला वा प्रदेशस्तरबाट समाधान हुनसक्ने सम्भावना छैन भनेपनि हुन्छ । तर केसीको अवस्था कमजोर हुँदै जाँदा पनि संघीय सकारले यसबारेमा मुख खोलेको छैन ।

गृहमन्त्री रामबहादुर थापाले डाक्टर केसीको अनसन अधिनायकबादी चरित्रको भएको आरोप लगाउनुभएको छ । राष्ट्रिय चिकित्सा विधेयक फिर्ता लिने र केही संशोधन गरेर फेरि संघीय संदसमा पेश गर्ने निर्णय सरकारले गरेको छ । सरकारले अब ल्याउने विधेयक कस्तो हुन्छ ? त्यसमा यसअघि केसीसँग भएका सहमतिको कार्यान्वयन हुन्छ कि हुँदैन ? भन्ने कुरा नै समस्या समाधान र केशीको अनसन अन्त्यको मुख्य कुरा हुनेछ ।

साँच्चिकै अब निर्णायक वार्ताको पहल र सुविधायुक्त स्थानमा उपचार तथा अनसन आवश्यक देखिन्छ । सरकारले एयर एम्बुलेन्समार्फत भएपनि उहाँलाई उद्धार गरि सुविधायुक्त अस्पतालमा उपचारको प्रवन्ध गर्नुपर्छ । सँगै विगतका सहमतिका आधारमा चिकित्सा शिक्षा अध्ययन विधेयक अघि बढाउनुपर्छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया