सेती नदीमा बेपत्ता भएका युवा संघ नेता पुष्करको शव २६ दिनपछि भेटियो

 असार ६, २०७६ शुक्रबार ११:३६:१६ | विमल बिष्ट
unn.prixa.net

डोटी – गएको जेठ १३ गते सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका युवा संघ डोटीका नेता पुष्कर सिंहको शव २६ दिनपछि शुक्रबार बिहान फेला परेको छ । 

डोटीको आदर्श गाँउपालिका-५ स्थायी घर भएका नेता सिंह आफ्नै गाउँलेको मलामी गएको समयमा सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका थिए । ४५ वर्षीय सिंह बेपत्ता भएपछि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेकपा डोटीका नेता कार्यकर्ता तथा स्थानीयवासी खोजी कार्यमा लागेका थिए ।

शुक्रबार बिहान शिखर नगरपालिका-१ कालागाढनजिक रहेको सालमुनि मन्दिर छेउमा सिंहको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डीएसपी लालबहादुर धामीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सालमुनि मन्दिर नजिक शव बगिरहेको देखेपछि हामीलाई खबर गरे, हाम्रो टोली शव भएको ठाउँमा पुगिसकेको छ । मृतक सिंहका घरपरिवारलाई खबर गर्दैछौँ ।'

शव फेला परेको स्थानमा डोटी प्रहरी, नेकपाका नेता तथा स्थानीयहरुको बाक्लो उपस्थिति रहेको छ । 

त्यस्तै नेता सिंह बेपत्ता हुनुभन्दा एक हप्ताअघि सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएकी शिखर नगरपालिका-४ बस्ने १६ वर्षीया धर्माकुमारी महराको भने अहिले सम्म शव फेला परेको छैन । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया