विश्वकप क्रिकेट : इंग्ल्याण्डले भारतलाई हराएसँगै अझ रोचक बन्यो सेमिफाइनल समीकरण

 असार १५, २०७६ आइतबार २३:३९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी एकदिवसीय विश्वकपअन्तर्गत घरेलु टोली इंग्ल्याण्डले भारतविरुद्ध ३१ रनको महत्वपूर्ण जित हासिल गरेको छ ।

सेमिफाइनल प्रवेशको सम्भावना जीवितै राख्नका लागि जित्नैपर्ने खेलमा इंग्ल्याण्डले यो सफलता हासिल गरेको हो । तर उसको सेमिफाइनल प्रवेश अझै निश्चित भइसकेको छैन । सन् १९९२ यता इंग्ल्यान्डले विश्वकपमा भारतलाई  पराजित गरेको यो पहिलोपल्ट पनि हो ।

१० टोली सम्मिलित विश्वकपको राउण्ड रोबिन लिग चरणको अन्तिम खेलमा न्यूजिल्याण्डलाई पराजित गरेमात्रै इंग्ल्याण्डले अन्तिम चारमा स्थान बनाउनेछ ।

८ खेलबाट इंग्ल्याण्डको १० अंक भएको छ । समान खेलबाट न्य्रजिल्याण्डको ११ र ७ खेलबाट भारतको पनि ११ अंक छ । ८ खेलबाट पाकिस्तानको ९ अंक छ । अन्तिम खेलमा पाकिस्तानले बंगलादेशलाई पराजित गरेमा र इंग्ल्याण्डले न्यूजिल्याण्डसँग पराजय व्यहोरेमा पाकिस्तान सेमिफाइनलमा प्रवेश गर्नेछ ।

जारी विश्वकपमा भारतको यो पहिलो पराजय हो । लिग चरणमा उसले श्रीलंका र बंगलादेशसँग खेल्न बाँकी छ । त्यसमध्ये एक खेलमा जित हासिल गरे पनि भारत सेमिफाइनलमा पुग्नेछ ।

इंग्ल्याण्डले दिएको ३ सय ३८ रनको विशाल लक्ष्य ओपनर रोहित शर्माको शतकका बाबजुद भारतले भेट्टाउन सकेन । उसले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै ३०६ रनमात्र बनाउन सक्यो ।

ओपनर केएल राहुललाई खाता खोल्नै नदिई क्रिस वोक्सले कट एण्ड बोल्ड गरेपछि आएका कप्तान विराट कोहलीले रोहितसँग मिलेर दोस्रो विकेटका लागि १ सय ३८ रनको शतकीय साझेदारी गरेपछि भारतको पारी उकासिएको हो ।

७६ बलमा ७ चौकासहित ६६ रनको स्कोरमा खेलिरहेका कप्तान कोहली २९ औं ओभरमा लियम प्लंकेटको बलमा जेम्स भिन्सको हातबाट स्लिप क्षेत्रमा क्याच आउट भए ।

रोहितले जारी विश्वकपमा तेस्रो र करिअरको २५ औं एकदिवसीय शतक प्रहार गरे । उनले १ सय ९ बलमा १५ चौकासहित १ सय ४ रन बनाएर आउट भए । उनले ऋषभ पन्तसँग मिलेर तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गरेका थिए ।

रोहितको विकेटसँगै भारतको पारी सुस्त हुन थाल्यो । पन्तले २९ बलमा ३२ तथा हार्दिक पान्ड्याले ३३ बलमा ४५ रन जोडेर आउट भए ।

पूर्व कप्तान महेन्द्र सिंह धोनी ४२ र केदार जादव १२ रनमा अविजित रहे ।

यसअघि बर्मिङघमको एजबास्टोन रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३ सय ३७ रनको योगफल तयार पारेको थियो ।

इंग्ल्याण्डका ब्याट्सम्यानले उत्कृष्ट सुरुवात दिलाएका थिए । पहिलो विकेटका लागि जोनी बेयरस्टो र जेसन रोयले १६० रनको साझेदारी गर्दै भारतीय बलरमाथि हावी भएका थिए ।

६६ रन बनाएका रोयलाई कुलदीप यादवले रवीन्द्र जडेजाको हातबाट क्याच आउट गराए । ५७ बल खेलेका रोयले ७ चौका र २ छक्का प्रहार गरेका थिए । भारतले पहिलो सफलता २२ ओभर १ बलमा हात पारेको थियो ।

रोय आउट भएपछि क्रिजमा आएका जोय रुट र बेयरस्टोले ४५ रनको साझेदारी गरे । उक्त साझेदारी मोहम्मद शामीले ऋषभ पन्तको हातबाट क्याच आउट गराउँदै तोडेका थिए । जसमा बेयरस्टो १११ रन बनाएर पेभेलियन फर्किए । १०९ बल खेलेका बेयरस्टो भारतीय बलरमाथि पुरै हावी देखिएका थिए । उनले १० चौका र ६ छक्का प्रहार रे ।

तेस्रो विकेटको रुपमा इंग्ल्याण्डले कप्तान ओयन मोर्गनलाई गुमाएको थियो । मोर्गन जम्मा १ रन बनाउँदै आउट भएका थिए । उनलाई शामीले नै केदार जादवको हातबाट क्याच आउट गर्दै पेभेलियन पठाए ।

जोए रुट र बेन स्टोक्सले ७० रनको साझेदारी गर्दै इंग्ल्याण्डको स्कोर २७७ रन पुर्याएका बेला ४४ रनको व्यक्तिगत स्कोरमा मोहमद शामीबाट आउट भए । ८ बलमा २० रन बनाएर आक्रामक सट खेलिरहेका जस बटलरलाई पनि शामीले कट एण्ड बोल्ड गर्दै आउट गराएका थिए । व्यक्तिगत पाँचौं विकेटको रुपमा शामीले क्रिस वोक्सलाई आउट गरे । ७९ रन बनाएका बेन स्टोक्सलाई बुमराहले आउट गरेका थिए ।

भारतका भुवनेश्वर कुमार घाइते भएपछि प्लेइङ सेटमा पर्दै आएका मोहम्मद शामीले आज पनि उत्कृष्ट बलिङ गरे । उनले निर्धारित १० ओभरमा १ मेडन राख्नै ६९ रन खर्चिएर ५ विकेट लिए । अन्तिम ओभरमा विकेट लिएका जसप्रित बुमराहले १० ओभरमा १ ओभेर मेडन राखेर ४४ रन खर्चिएर १ विकेट लिए ।

कुलदीप यादव, हार्दिक पाण्ड्या र युजबेन्द्र चहल महँगो सावित भए । कुलदीपले एक विकेट लिए पनि ७२ रन खर्चिए भने विकेटविहीन बनेका चहल र पाण्ड्याले क्रमशः ८८ र ६० रन खर्चिएका थिए ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया