गुल्मीमा पहिलो पटक मकैको मूल बीउ उत्पादन शुरु

 असार १७, २०७६ मंगलबार १६:४१:४७ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत गुल्मी जिल्लामा मकै जोन परियोजना लागू भएसँगै यहाँका कृषकहरुले जिल्लामा पहिलो पटक मकैको मूल बीउ उत्पादन शुरु गरेका छन् ।

जिल्लाको ईस्मा गाउँपालिका अन्तरगत अमरपुर, मदानेको पुर्कोट दह र रेसुंगा नगरपालिकाको सिमीचौर गरी २० रोपनी क्षेत्रफलमा  कृषकहरुले मकैको मूल बीउ लगाउन शुरु गरेका हुन् । अन्य जातको मकैको बीउको तुलनामा मूल बीउको मूल्य प्रति केजी दुई सय रुपैयाँभन्दा बढी पर्ने भएका कारण कृषकहरु मूल बीउ उत्पादनमा जोड दिन थालेका हुन् । 

मूल बीउ उत्पादनका लागि खुमल हाइब्रिड २ को भाले लाइन र पोथी लाइन फरक फरक लाइनमा रोपेर क्रसिङ्ग गराइ मूल बीउ उत्पादन गरिने मकै जोन परियोजनाका प्रमुख कुल प्रसाद दवाडीले बताउनु भयो ।सिंञ्चित क्षेत्रमा बेमौसमी  मकै प्रवद्र्धनका लागि यस वर्ष करिव २० हेक्टर क्षेत्रफलमा विभिन्न जातका हाइब्रिड मकै खेती शुरु गरिएको छ । 

यसरी उत्पादित बीउको गुणस्तरीय तवरले भण्डारण तथा प्रशोधन गर्ने उद्देश्यले मकै जोन क्षेत्र अन्तरगत  सिमीचौरको बासखर्क कृषि सहकारी संस्था, ईस्माको दिपज्योति बहुउद्देश्यीय कृषक समूह र पुर्कोटको उद्यमशील कृषि सहकारी संस्थामा प्रशोधन मेशीनरी सहितका सामग्रीहरु समेत उपलब्ध गराइएको छ ।

त्यसबाट जिल्लामा उत्पादित बीउ प्रशोधन सहित सम्बन्धित कृषक समूह र सहकारीहरुको लेवल र ब्राण्डमा जिल्ला बाहिरसमेत बीउको निकासी हुने अपेक्षा गरिएको छ । मकै जोन क्षेत्रबाट जिल्लामा यस वर्ष मात्र ४५ मेट्रिकटन बीउ बाहिरी जिल्लामा निर्यात गरिसकिएको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया