बंगलादेशलाई हराउँदै भारत विश्वकप क्रिकेटको सेमिफाइनलमा

 असार १७, २०७६ मंगलबार २३:३३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

बंगलादेशविरुद्ध २८ रनले जित हासिल गरेपछि इंग्ल्याण्ड र वेल्समा जारी एकदिवसीय विश्वकपको मुख्य दावेदारमध्येको एक भारत सेमिफाइनलमा पुगेको छ ।

सेमिफाइनलमा पुग्ने अष्ट्रेलियापछिको दोस्रो टिम भारत बनेको छ । भारतले लिग चरणको ८ खेलमा १३ अंक जोडेको छ । लिगको अन्तिम चरणमा उसले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।

बर्मिङघमको एजबास्टोन रंगशालामा ३१५ रनको लक्ष्य पछयाएको बंगलादेशले ४८ ओभरमा सबै विकेट गुमाएर २८६ रनमात्र रनमात्र जोड्न सक्यो ।

उच्च लयमा रहेका शकिब अल हसनले ६६ रनको अर्धशतकीय पारी खेले पनि अन्य ब्याट्सम्यानले उनलाई गतिलो साथ दिन नसक्दा बंगलादेशले झिनो हार व्यहोरेको हो । यो हारले पहिलोपल्ट विश्वकपको सेमिफाइनलमा पुग्ने बंगलादेशको सपना कम्तीमा ४ वर्षका लागि धकेलिएको छ ।

ओपनरहरु तामिम इक्वाल र सौम्य सरकारले पहिलो विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । सौम्यले ३३ र इक्वालले २२ रनको पारी खेले ।

तेस्रो नम्बरमा आएका हसनले ७४ बलमा ६ चौकाको सहयोगमा ६६ रन प्रहार गरे । त्यसपछि आठौं नम्बरमा आएका मोहम्मद सइफुद्धिनले अर्धशतकीय पारी खेले पनि टिमलाई हारबाट जोगाउन सकेनन् । उनी ३८ बलमा ९ चौकाको सहयोगमा ५१ रनमा अविजित रहे । बंगलादेशको मध्यक्रमले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा पराजित हुनुपरेको हो ।

बंगलादेशका लागि मध्यक्रममा सब्बिर रहमानले ३६ र लिटन दासले २२ रन जोडेका थिए । कप्तान मश्रफी मोर्तजा ८ र रुवेल हुसेन ९ रनमा आउट भए ।

बलिङतर्फ जसप्रित बुमराहले ४ विकेट लिए । हार्दिक पाण्ड्याले ३ तथा भुवनेश्वर कुमार, मोहम्मद शामी र युजवेन्द्र चहलले १-१ विकेट लिए । बुमराहले १० ओभरमा १ मेडन राख्दै ५५ रन खर्चिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाएर ३१४ रन बनाएको हो । ओपनरहरु रोहित शर्माको शतक र केएल राहुलको अर्धशतकको मद्दतले बंगलादेशलाई ३ सय माथिको लक्ष्य दिएको हो ।

भारतका रोहित र राहुलले पहिलो विकेटका लागि १८० रनको साझेदारी गर्दै बलियो सुरुवात गरेका थिए । पहिलो विकेटका रुपमा रोहित शतकसहित १०४ रन बनाएर आउट भए । यो उनको जारी विश्वकपमा चौथो शतक हो ।

रोहितले विश्वकपमा चार शतक बनाउने श्रीलंकाका कुमार सांगकाराको रेकर्ड बराबरी गरेका छन् भने भारतको पहिलो ब्याट्सम्यान बनेका छन् । यसैगरी जारी विश्वकपमा सर्वाधिक ५४४ रन बनाउने खेलाडी पनि बनेका छन् ।

रोहित आउट भएपछि क्रिजमा आएका कप्तान विराट कोहलीले २६ रन बनाए । लगातार पाँच खेलमा अर्धशतक बनाएका कोहली आज भने चल्न सकेनन् । ओपनर राहुल भने ७७ रन बनाएर आउट भए । शिखर धवन घाइते भएर प्रतियोगिताबाटै आउट भएपछि ओपनिङ आएका राहुलले जारी प्रतियोगितामा २ वटा अर्धशतक बनाए पनि शतक भने बनाउन सकेका छैनन् ।

अर्का युवा व्याट्सम्यान ऋषभ पन्त ४८ रनमा पेभेलियन फर्किए । हार्दिक पाण्ड्याले खाता खोल्नै सकेनन् भने महेन्द्र सिंह धोनी ३५ रनमा पेभेलियन फर्किएका थिए । तीन खेलपछि टिममा फर्किएका भुवनेश्वर कुमार २ रन बनाएर रन आउट हुँदा मोहम्मद शामी १ रनमा नट आउट रहे ।

बंगलादेशका मुस्तफिजुर रहमानले सर्वाधिक ५ विकेट लिएका थिए । उनले आफ्नो १० ओभरको स्पेलमा ५९ रन खर्चिदा १ ओभर मेडन राखेका थिए ।

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया