पहाडका बस्ती सधैँ जोखिममा

 असार २३, २०७६ सोमबार १४:१:२२ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा – मोलुङ गाउँपालिका–३ को केराबारी गाउँमा गएको वैशाख १३ गते दिउँसो डरलाग्दो पहिरो खस्यो ।

पानी नपर्दै गाउँमाथिको पहाड भत्किनुको कारण थियो, अघिल्लो दिन अर्थात् वैशाख १२ गते गएको भूकम्पको अर्को परकम्प । यो वस्तीमाथि रहेको पहाड चिराचिरा परेर अहिले पनि पहिरो खसिरहन्छ । 

यो बस्तीमा सुनुवार र अन्य समुदाय १६ परिवार बस्छन् । वैशाख १३ गते खसेको पहिरो सम्झँदै निर्मला सुनुवारले भन्नुभयो, ‘अघिल्लै दिनको कम्पनले घर चिराचिरा परिसकेको थियो, वैशाख १३ गते पहिरो खसेर घरको आगनमै आएपछि भागेर ज्यान बचाइयो ।’ 

केही हप्ता बारीमा त्रिपालमुनि रात कटाए पनि वस्तुभाउ, र अन्नपात भूकम्पले क्षति पुर्याएको घरमा नै रहेकाले ज्यान गए पनि जाओस् भनेर जीर्ण घरमा नै फर्किएको उहाँले बताउनुभयो । 

अहिले पनि त्यहाँका स्थानीय जोखिम मोलेर नै बसोबास गर्दै आइरहेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उनीहरुलाई स्थानान्तरण गर्न काम थाले पनि पूरा भएको छैन ।

जोखिम मोलेर नै चिराचिरा परेको पहाडमुनि बसोबास गर्दै आउनुभएका प्राप्चा केउरेनीका विष्णुप्रसाद पोखरेल भन्नुहुन्छ, ‘अन्यत्र जान जग्गा छैन, किन्न सकिन्न मरे बरु आफ्नै थात थालोमा मरियोस् भन्ने लागेर यही बसियो ।’

केरावारीजस्तै अन्य आठ गाउँका एक सय ९९ परिवार बस्ती माथि र तलबाट जाने पहिरोको उच्च जोखिममा रहेका छन् । खानी तथा भूगर्भ विभागले त्यस्ता बस्ती पहिरोको जोखिममा रहेको भन्दै तत्काल स्थानान्तरण गर्न सुझाव दिएको एक वर्ष बितिसकेको छ । त्यस्ता जोखिममा रहेका परिवार अन्यत्र जान नसक्नुको कारण उनीहरुको बाँच्ने आधार र सम्पति भनेकै पहाडका भएका जग्गा र वस्तुभाउ हुन् । आफ्नो बाँच्ने आधार छाड्न नसकेर उनीहरु जोखिममै पनि त्राहीमाम् जीवन बिताइरहेका छन् ।

मोलुङ गाउँपालिका–८ रागाँदीपमा चार वर्षीय बालकसहित एकै परिवारका चार जना २०७५ भदौ १३ गतेको पहिरोमा पुरिए । राति सुतिरहेको अवस्थामा पहिरोले घर पुर्दा उनीहरुको सुतेकै ओछ्यानमा जीवनका रंगीन सपना समाप्त भए ।

पहिरोमा दिदी, बाबु, आमा र भाइ गुमाएका तीन जना बालिका अहिले परिवारबाटै विस्थापित भएर मावलीको शरणमा छन् । पहाडमुनि बस्दाको पीडा पहिरोमा बाँचेका तीन बालबालिकाले खेपिरहेको मोलुङ गाउँपालिका–८ का वडा अध्यक्ष हरि राईले बताउनुभयो । जोखिमयुक्त र पहिरो जानसक्ने पहाडमुनिका सबै बस्ती स्थानान्तरण गर्नुपर्ने विषयमा गाउँपालिकामा छलफल चलिरहेको उहाँले बताउनुभयो ।

जनप्रतिनिधिले पहाडका जोखिम बस्ती स्थानान्तरण गर्ने योजना निर्माण र कार्यान्वयन गर्न  चासो नदिएको सामाजिक अभियन्ता लिला सुनुवारले गुनासो गर्नुभयो । उहाँ भन्नुहुन्छ, ‘स्थानीय सरकारले पहाडका सबै खाले जोखिम वस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्ने नीति बनाउनु पर्छ र कार्यान्वयनमा ल्याइहाल्नुपर्छ । अहिले स्थानीय तहले बनाएको विपद् व्यवस्थापन ऐनलाई नै परिर्माजन गरेर एकीकृत बस्तीको विषयलाई कानुनी रुप दिन सकिन्छ ।’

पहिरोकै कारण खिजीदेम्बा गाउँपालिका–३, खिजीचण्डेश्वरीमा गएको भदौमा चार परिवार विस्थाति भए । उनीहरुको घर पहिरोको चपेटामा परेपछि वर्षामा घरको जगैसम्म पहिरो गए पनि  वर्षा सकिएपछि उनीहरु त्यही जोखिमपूर्ण स्थानमा बसोबास गरिरहेका छन्  । यो घटनाका पीडित धनबहादुर विक आफ्नो थातथलो छोडेर अन्यत्र जान आधार नभएपछि जोखिममै बसिरहेको बताउँछन् ।

पहिरो मात्रै होइन पहाडका बस्तीमा आगालगीको पनि उत्तिकै जोखिम छ । खरका छाना भएका घरहरु हरेक वर्ष जल्ने गरेका छन् । घरबाट हुने लापरवाहीका अतिरिक्त भिराला जमिनमा रहेको वस्तीमा घरभन्दा तलमाथिका जंगल र खरपाखामा लाग्ने आगो सिधै बस्तीमा पस्दा धनमालको क्षति  हुने गरेको छ ।

भीरमा लागेको आगो बस्तीमा पस्दा चैत महिनामा मात्रै सिद्धिचरण नगरपालिका –२ मा ७ घर जले । ओखलढुंगा र खोटाङमा तीन वर्ष यता भीरमा घाँस काट्न जाँदा लडेर ५२ जनाले ज्यान गुमाए । प्रहरीको तथ्यांक अनुसार भीरमा घाँस काट्न जाँदा र भारी बोकेर फर्कँदा उनीहरुले ज्यान गुमाएका हुन् । अन्य विपद् नआउँदा पनि पशुपालन गर्ने किसानले घाँसका वाहानामा ज्यान गुमाउनु परेको छ ।

प्राकृतिक विपत्ति र मानव सिर्जित प्रकोपले पहाडका बस्ती सधैँ जोखिममा पर्दै आएका छन् । यस बाहेक राज्यले दिने अत्यावश्यक सेवा नपाएर पनि मान्छेको ज्यानै जाने गरेको छ । दुर्गम पहाडका बस्तीमा स्वास्थ्य सेवाका लागि स्वास्थ्य चौकी भए पनि प्रर्याप्त औषधि र स्वास्थ्यकर्मी हुँदैनन् । गएको वर्ष प्रसुति गराउँदा अत्याधिक रक्तश्राव भएर खिजीदेम्बामा दुई जना महिलाले ज्यान गुमाए । तत्काल अस्पताल पुर्‍याउन बाटो नहुँदा उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा गरिएको थियो । विकटताकै कारण उनीहरुले उपचार पाउन सकेनन् । सुविधा सम्पन्न ठाउँमा लैजान हेलिकप्टर चार्टर गर्ने क्षमता परिवारको नहुँदा उनीहरुले अकालमै ज्यान गुमाए ।

यी केही प्रतिनिधिमूलक घटना मात्रै हुन् । पहाडी वस्तीका बासिन्दा यस्ता कनेकन चुनौती भोग्न बाध्य छन् । आर्थिक रुपमा केही सक्षम रहेकाहरु क्रमश यस्ता समस्याबाट भाग्न भिरालो जग्गा छाडेर समथर जग्गामा बसोबासका लागि सर्ने क्रम पनि सुरु भएको छ । पहाडका बस्तीमा खहरेको अप्रत्यासित कटान, पहिरो र आगलागी जस्ता चुनौती अप्रत्यासित रुपमा आउने आएकाले उच्च जोखिममा रहेको राष्ट्रिय पुनः निर्माण प्राधिकरणस्थित जिल्ला कार्यालयका सामाजिक विकास विज्ञ सुनिता अधिकारीले बताउनुभयो ।

उनले भूकम्पले पनि भिरालोमा निर्माण भएका घर बढी जोखिममा रहेको बताउनुभयो । अधिकारीले भन्नुभयो ‘पहाडी बस्ती पहिरो, खहरेको कटान, खानेपानीको समस्या र भूकम्पलगायत सबै जोखिममा छन् । यही कारणले पहाडमा बसाइँसराइलगायतका कारण जनसंख्याको असन्तुलन बढ्दै गएको हो ।’

अन्तिम अपडेट: असोज २२, २०७६

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया