ताप्लेजुङका ३० गाउँ पहिरोको उच्च जोखिममा

 असार २३, २०७६ सोमबार २०:३२:३३ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – ताप्लेजुङका ६१ वडामध्ये ३० वटा वडा पहिरोको उच्च जोखिममा रहेका छन् ।  जिल्ला विपद् व्यवस्थापन समिति तथा नेपाल रेडक्रस सोसाइटीले विगतका २५ वर्षलाई मध्यनजर गर्दै ३० गाउँहरु पहिरोको उच्च जोखिममा रहेको देखाएको छ । 

सिरिजंघा गाउँपालिकाको याम्फुदिन, मामाखे, पेदाङ र सिनाम गाउँ उच्च जोखिममा रहेको विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहनु भएका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताउनुभयो । 

त्यस्तै फक्ताङलुङ गाउँपालिकाको लिङखिम, तापेथोक, साँवादिन, लेलेप र ओलाङचुङगोलाका गाउँ पहिरोको उच्च जोखिममा रहेका छन् । सिदिङ्वा गाउँपालिकाको सादेवा, सुरुम्खिम, कालिखोला र आँङ्खोपका गाउँ पनि पहिरोको उच्च जोखिममा रहेका छन् । 

पाथिभरा याङवरक गाउँपालिकाका नाङखोल्याङ, थुम्बेदिन र चाक्सिबोटे गाउँ तथा मिक्वाखोला गाउँपालिकाको खोक्लिङ र सावदिन साथै मेरिङदेन गाउँपालिकाको थुकिमा, सान्थाक्रा, थिङलाबु र खाम्लुङ गाउँ पनि पहिरोको उच्च जोखिममा रहेका छन् । 

यता मैवाखोला गाउँपालिकाको ५ वटा वडा मध्ये कुनै पनि पहिरोको जोखिममा नरहेको जिल्ला विपद् व्यस्थापन समितिले निर्णय गरेको छ ।   

सदरमुकाम फुङलिङ नगपालिकाका ११ वडा मध्ये ६ वटा वडा पहिरोको उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताउनुभयो । उच्च जोखिममा रहेका वडाहरु १, ६, ७, ८ र १० हुन् ।   

यी गाउँहरु कुनै बेला पनि वर्षाको समयमा बाढीपहिरो आउने भएकाले सबैलाई  सतर्क हुन प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष अनुज भण्डारीले बताउनुभयो ।

ताप्लेजुङ सदरमुकाम छेउमा रहेको हाङदेवाको हिरेवा, चिनेवा पहिरोले ठूलो रुप लिएमा सदरमुकाम नै खतरामा पर्ने देखिन्छ ।   

त्यसैगरी नाङखोल्याङ, लिङखिम-थिवा, फुरुम्बु, सिनाम, आँङ्खोप, निघुरादिन, फुलबारी, याम्फुदिन, तापेथोक, थुम्बेदिनलाई नियमित रुपमा बगिरहने  ठूला पहिरोको रुपमा लिने गरेको नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङले जनाएको छ । 

विगतलाई हेर्ने हो २०७३ सालमा दोखुमा पहिरो जाँदा ४ जनाको ज्यान गएको थियो । साथै सयौं घर परिवारहरुको उठिबास भएको थियो । 

२०७२ सालमा जिल्लाका तत्कालिन गाविसहरु खोक्लिङ, लिबाङ, लिङलेप, सान्थाक्रा साथै विभिन्न भागमा गएको पहिरोका कारण ५९ जनाको मृत्यु भएको थियो । पहिरोबाट ठूलो क्षति भएको थियो ।

दुई वर्षमा भएको क्षति त उदाहण मात्र हुन् ।  २०५९ सालामा लिङखिम, हाङदेवामा गएको पहिरोमा परी ११ जनाले ज्यान गुमाएका थिए । त्याे पहिरोबाट विस्थापित भएर जिल्ला सदरमुकाममा आउनुभएका तेजबहादुर भट्टराई पहिरोको स्मरण गर्दै भन्नुहुन्छ, 'रातको समयमा थोरैले मात्र मेरो परिवार बचेको थियो ।' 

ताप्लेजुङमा २० वर्षको अवधिमा १ सय ५० जना मानिसले ज्यान गुमाएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति ईन्द्रबहादुर गुरुङले बताउनुभयो । 

अन्तिम अपडेट: कात्तिक २, २०७६

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Shankar Karki

    July 10, 2019, 8:34 a.m.

    यो हामी नेपालीको विडम्बना हो, भएका जंगल जति सबै फँडानी गर्ने अनि रुखलाई काठ बनाउंदै व्यापार गर्ने र अहिले पहिरोले घर बगाउने भयो भन्दै टाउकोमा हात राखेर रुने ...कति मूर्खतापूर्ण काम ! हो, पहिरोवाट बच्नु छ भने रुख रोपौं , रुखले माटो समाउँछ अनि पहिरो जाँदैन/ कर्म गरेपछि फलको इच्छा नगरेपनि वाहियात कर्मको फल त भोग्नैपर्छ , अब भोग त्यसको फल / यदि अझै विवेक छ भने हे नेपाली नागरिक हो , हामीले पहाड र तराइमा बनजंगल बढाउनुपर्छ , त्यसोभए मात्र रुखले पहिरोवाट जोगाउँछ / जहाँ पहिरोको जोखिम छ, त्यहाँ जरा तल सम्म पुग्ने रुख रोप्ने/ अनि जहाँ खेती गर्न सकिन्छ, त्यहाँ फलफूलको रुख रोप्ने कसले गर्दा आम्दानी पनि हुन्छ अनि पहिरोवाट पनि बचिन्छ / तराइमा सबै फलफूल, पिपल र वरको रुख रोप्ने , नदीको किनार देखि ३०० मिटर परसम्म, अनि बाढीले कसैको घर जग्गा लाने छैन / आँखा खोल नेपाली हो, आँखा खोल !!

  •  0 Reply

तपाईको प्रतिक्रिया