सिरिञ्ज आक्रमणकाे आराेप लागेका पाठक निर्दाेष, साेमबार र मंगलबार के-के भयाे ?

 असार २४, २०७६ मंगलबार १९:५९:२७ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – काभ्रेको बनेपामा गुडिरहेको बसमा यात्रारत महिलामाथि सिरिञ्ज आक्रमण भएको घटना सोमबार दिनभर चर्चामा रह्यो । 

बसमा यात्रा गरिरहेकी एक जना महिलाले कसैले आफ्नो हातमा घोचेको भन्दै चिच्याएपछि नजिकै उभिइरहेका पुरुषलाई सबैले घेरे । पछिल्लो केही सातादेखि सिरिञ्ज आक्रमणको समाचार सुन्दै आएकी ती महिलालाई आफूमाथि पनि सिरिञ्ज आक्रमण भएको आभाष हुन्छ । 

नजिकै सिटमा रहेकी एक महिलालाई सोध्दा उनले आफूले घोचेको होइन भनिन् । त्यहीँ बेला छेवैमा उभिरहेका अर्का पुरुष बसबाट झर्न खोज्छन् । हातमा घोचिएकी भनिएकी महिलाले ती पुरुषलाई पनि सोध्छिन् ।

पुरुषले होइन भन्न नपाउँदै उनलाई गाडीमा रहेका अन्य यात्रुले समातेर लतार्दै तल झार्छन् । वरपर रहेका पुरुषहरु पनि उनै पुरुषहरुमाथि खनिन्छन् । म निर्दोष छु भन्न नपाउँदै ती पुरुषले ३/४ मुक्का भेटिसक्छन् । केहीले जलाएरै मार्न पर्ने भन्दै उनीमाथि आक्रोश पोख्छन् । 

मिडियाका लागि पनि त्यो विषय मसला बन्यो । कतिपय सञ्चारमाध्यमले सिरिञ्ज आक्रमण गर्ने त्यही पुरुष हुन् जसरी नै समाचार प्रकाशित गरे । 

केही सातादेखि काठमाण्डौलगायतका क्षेत्रमा सिरिञ्ज आक्रमणको घटनाले सर्वसाधारण त्रसित छन् । यसरी सिरिञ्ज आक्रमण गर्ने व्यक्ति नै भेटिएको भन्दै हो–हल्ला भएपछि सोमबार दिनभर यो विषयले चर्चा पायो ।  

सिरिञ्ज आक्रमण गरेको आरोप लाग्ने व्यक्ति स्याङ्जाको वालिङ नगरपालिका–१३ उदियाचौरका खगेन्द्र पाठक थिए । पाठक जो गएको १० वर्षदेखि वालिङकै सरस्वती माद्यमिक विद्यालयमा अध्यापन गराउनुहुन्छ । कक्षा ११ र १२ मा पनि उहाँले अंग्रेजी विषय अध्यापन गराउनुहुन्छ ।

अहिले वर्षे बिदाको मौका छोपेर लोक सेवा आयोगको परीक्षा तयारीका लागि पाठक काठमाण्डौ बस्दै आउनुभएको थियो । काभ्रेमा बस्ने पर्वतको पैयुँ गाउपालिका ५ का बिरामी ठूलीआमाको छोरा भेट्न धुलिखेल जानुभएका पाठकलाई साेमबार बसबाट ओर्लनै लाग्दा सिरिञ्ज आक्रमणको आरोप लाग्यो । 

बिरामी भेट्न हिँडेका पाठक बिरामी नभेटी कतिको मुक्का र कुटाइ खाँदै प्रहरी कार्यालय पुग्नुपर्यो । सिरिञ्ज आक्रमणकारी भेटिएको भन्दै केहीबेर बनेपा तनावग्रस्त नै बन्न पुग्यो ।

पाठकले आफूमाथि अनाहकमा आरोप लागेको बताउनुहुन्छ । ‘बिरामी भेट्न हिँडेको मान्छेलाई अनाहकमा भिडले कुटपिट गर्यो, केही बेर त के भयो भन्नेसम्म नै थाहा पाइनँ’, उहाँले भन्नुभयो, ‘नजिकै प्रहरी थिएनन् भने त मर्ने रहेछु ।’ 

आफूले गर्दै नगरेको कुरामा पनि आरोप थोपर्दै भिड आफूमाथि खनिँदा भने जिन्दगी नै सकिएको अनुभुति भएको उहाँ सुनाउनुहुन्छ । ३४ वर्षीय पाठकको एक श्रीमती र १ छोरा छन् । छोरा बुढानीलकण्ठमा कक्षा ४ मा पढ्छन् । 

दुई दाजुभाइ र दुई दिदीबहिनीमध्ये पाठक जेठो छोरा हुनुहुन्छ । उहाँले विवाह गरेको पनि ११ वर्ष भइसकेको छ । 

के भन्छन् खगेन्द्रलाई चिन्नेहरु ?

बुवा किसानलाल पाठकको निधनपछि पारिवारिक जिम्मेवारी सम्हाल्दै आउनुभएका खगेन्द्र पढ्नमा अत्यन्तै मेहनती भएको उहाँका साथीहरु बताउँछन् ।

बोल्ने क्रममा कहिलेकाहीँ बोली अड्कने गर्छ । साेमबारको घटनामा पनि सिरिञ्जले घोंचेको कुरो निस्कनेबित्तिकै पाठकले होइन, म निर्दाेष छु भन्न नपाउँदै यस्तो घटना भएको हुन सक्ने उनका साथीहरु अनुमान गर्छन् ।  

वडाध्यक्षसमेत रहनुभएको उहाँका ठूलो बुवाको छोरा आनन्द पाठकले निर्दाेष व्यक्तिले अनाहकमा दुःख र पीडा भोग्नु पर्ने अवस्था आएको बताउनुहुन्छ ।अहिलेसम्म उसले कसैलाई छुद्र वचनसमेत भनेको नसुनेको भन्दै उहाँले र कसैलाई सुई घोँच्दै हिडेको भन्ने आरोप विश्वासै गर्न नसकिने बताउनुहुन्छ । 

पाठकले पढाउँदै आएको सरस्वती माविका प्रधानाध्यापक यामबहादुर कुँवर पनि इमान्दार व्यक्तिमाथि यस्ता आरोप लाग्नु सारै दुःखद कुरा रहेको बताउनुहुन्छ ।

खगेन्द्रलाई चिन्ने र उहाँसग संगत गर्ने कसैले पनि उनी दोषी हो भनेर मान्न तयार छैनन् । घटना सार्वजनिक भएलगत्तै खगेन्द्रलाई चिन्ने सबैले सामाजिक सञ्जालमा आ–आफ्नो भनाइ राखेका थिए ।

खगेन्द्रलाई चिन्नेहरु कसैले पनि सामाजिक सञ्जालमा उनका बारे नकारात्मक भनाइ राखेको भेटिँदैन । उहाँको विगतलाई हेर्दा कहीँ कतै पनि नराम्रो व्यवहार नगरेको हुनाले आरोप निराधार रहेको सबैले लेखेका छन् ।  

अब के हुन्छ ? 

सिरिञ्ज प्रहार गरेको आरोप लागेपछि पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पीडित पक्ष र आरोपीत पक्ष दुवैलाई राखेर छलफल गरेपछि काभ्रे प्रहरीले सोमबार साँझ नै आरोपित पाठकलाई छाडिसकेको छ । 

तर पीडित महिलाको मंगलबार अस्पतालमा जाँच गराउने र रिपोर्टअनुसार पाठकलाई के गर्ने भन्ने विषयमा सहमति भएर साेमबार पाठक छुटेको काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटा बताउनुहुन्छ ।  

महिलाले पनि पाठकले नै सुई घोचेको भनेर किटान नगरेकाले सुई घोचेकै रिपोर्ट आए पनि उनलाई कारबाही गर्ने कानुनी आधार भने छैन । तर शंकाको दृष्टिकोणले आवश्यक छानबिन भने हुने उहाँले बताउनुभयो । यसरी घोंच्दै हिँड्ने व्यक्ति को हो भन्नेबारे प्रहरीले विगतदेखि नै खोजी गरिरहेकाले अहिलेको घटनामा पनि पीडक खोज्ने काम प्रहरीले गर्ने उपरीक्षक सापकोटा बताउनुहुन्छ । 

बसमा पहिला अर्को महिलामाथि शंका भएको र पछि पाठक ओर्लन खोज्दा उनैले गरेको हो कि भन्ने भान परेको भनेर पीडितले बताएकाले त्यसमा सत्यता के हो भनेर आफूहरुले आवश्यक बुझ्ने काम गरिरहेको पनि उहाँले बताउनुभयो । 

कसैले आरोप लगाउँदैमा कोही व्यक्ति दोषी भइ नहाल्ने भन्दै उहाँले त्यसका लागि प्रहरीले आवश्यक छानबिन गर्ने बताउनुहुन्छ । सिरिञ्ज घोचेको भनिएकी महिला जाँचका लागि मंगलबार टेकु अस्पताल पुगेकी थिइन् । अस्पतालले महिलाको हातमा सिरिञ्जले घोचेको नभई अन्य वस्तुको घोचाइ रहेको रिपोर्ट दिएको छ । 

अस्पतालको रिपोर्ट के आउँछ भनेर खगेन्द्र पाठक र उनका भाइ ज्ञानप्रसाद मंगलबार दिउँसो नै प्रहरी कार्यालयमा गएर कुर्नु भएको थियो । महिलाको रिपोर्ट आएपछि आफ्ना दाजुमाथि लागेको आरोप गलत पुष्टि भएको भाइ ज्ञानप्रसादले बताउनुभयो ।  

तर प्रहरीले शंकाको आरोपमा पक्राउ गरेकै भरमा सञ्चार माध्यमले ‘अपराधी’ नै जसरी प्रस्तुत गरेकोमा उहाँले दुःख व्यक्त गर्नुभयो । 

पीडित भनिएकी महिला र उनको परिवार तथा पाठकबीच अस्पतालको रिपोर्ट आएपछि मंगलबार साँझ प्रहरीको रोहबरमा सहमति भएसँगै पाठकले आरोपबाट छुटकारा पाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

यस्ताे छ मंगलबार भएकाे त्रिपक्षीय सहमति

अन्तिम अपडेट: चैत १५, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया