हत्याको विषयलाई लिएर बझाङको कालंगागाड जलविद्युत आयोजनामा तोडफोड, काम ठप्प

 असार २४, २०७६ मंगलबार २०:४९:११ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – सुदूरपश्चिम प्रदेशको गौरवकै योजना मानिएको बझाङको बुंगल क्षेत्रमा रहेको कालंगागाड हाइड्रोपावरको फिल्ड कार्यालयमा तोडफोड भएको छ । 

गएको असार १६ गते हाइड्रोपावरका जेसीबी चालक माधव बोहरालगायत अन्य व्यक्तिले बुंगल नगरपालिका–२, बस्तीकी २० वर्षीया ललिता धामीको सामूहिक बलात्कार गरी हत्या गरेको भन्दै दोषीलाई कारबाहीको माग गर्दै स्थानीयले हाइड्रोपावरको फिल्ड कार्यालयमा तोडफोड गरेका हुन् । 

स्थानीयले हाइड्रोपावरका झण्डै १० वटा गाडीमा क्षति पुर्‍याएकाे कालंगा हाइड्रो पावरका संस्थापक विरेन्द्र मल्लले बताउनुभयो । विद्यार्थी र स्थानीय व्यक्तिहरुले तोडफोड गर्दा हाइड्रोको फिल्ड कार्यालयमा पनि क्षति पुगेको मल्लले बताउनुभयो । 

यता मृतक किशोरीका बुबा कलक धामीले भने आफूहरुले स्थानीयलाई तोडफोड नगर्न सुझाएको बताउनुभएको छ । आफूहरु छोरीको शव लिएर सदरमुकाम चैनपुर गएको र कस्ले किन तोडफोड गरेको हो भन्ने बारे आफूहरुलाई कुनै जानकारी नरहेको उहाँले बताउनुभयो । 

छोरीको हत्यारालाई प्रहरीले नियन्त्रणमा लिइसकेकाले जो सुकैले भए पनि तोडफोडमा उत्रनु राम्रो नभएको धामी बताउनुहुन्छ । यता बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले हाइड्रोमा क्षति पुर्‍याउने गरी भएको घटनामा संलग्नलाई कारबाही गरिने बताउनुभयो । 

साथै उहाँले हाइड्रोको सुरक्षाका लागि थप प्रहरी टोली खटाइएको बताउनुभयो । हाइड्रो पावर तोडफोड गर्ने समयको भिडियो रेकर्ड नै रहेकाले त्यसमा संलग्नको पहिचान गरेर कारबाहीको दायरामा ल्याउने उहाँले बताउनुभयो ।  

घटना भएको दिनदेखि नै हाइड्रो पावरले काम बन्द गरेको छ । संचालक तथा फिल्डमा काम गर्ने कर्मचारीले शान्ति सुरक्षाको प्रत्याभूति नभएको भन्दै असार १६ गतेदेखि नै काम बन्द गरेका हुन् । हाइड्रोको अहिले ९ स्थानमा काम रोकिएको छ ।  

कम्पनीले कालंगा जलविद्युत आयोजनालाई अघि बढाउन ३ ठाउँमा संरचना निमार्ण गरिसकेको छ । ६५ मेगावाट विधुत उत्पादन गर्ने लक्ष्यसहित काम भइरहेको कालंगा हाइड्रोको अहिलेसम्म ६० प्रतिशत काम भइसकेको छ । 

कालंगा हाइड्रोमा तोडफोडपश्चात त्यहाँको सुरक्षाका लागि अहिले २० जना सशस्त्र प्रहरीको टोली खटिएको सशस्त्र प्रहरी बल बझाङका प्रहरी नायब उपरीक्षक भुवनराज पन्तले जानकारी दिनुभयो । 
 
 

अन्तिम अपडेट: चैत ६, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया