गुल्मी पहिराे : घाइते बाेकेर फर्कियाे परराष्ट्र मन्त्रीसहितकाे टाेली

 साउन ८, २०७६ बुधबार १९:५०:३५ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – सत्यवती गाउँपालिकाको ठूलो लुम्पेकमा सोमबार राति पहिरोबाट विस्थापित भएका परिवारको अवस्था बुझ्न गएकाे परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीकाे टाेली घाइते लिएर  काठमाण्डाै फर्किएकाे छ । 

सत्यवती–४ का १० वर्षीया करिष्मा तरामु र १३ वर्षीय धनी तरामुलाई राहत लिएर आएको हेलिकप्टरमा उपचारका लागि काठमाण्डाै लगिएकाे हाे । काठमाण्डाैकाे त्रिवि शिक्षण अस्पतालमा दुवै जनाकाे उपचार भैरहेकाे छ ।

मन्त्री ज्ञवालीले पहिरो पीडित परिवारसँग उनीहरुको अवस्था र समस्याको बारेमा जानकारी लिँदै पीडित परिवारका लागि सरकारको तर्फबाट उपलब्ध हुने सहयोगमा कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ ।  

यस्तै पहिरो प्रभावित गुल्मीको सत्यवती गाउँपालिकामा राहत सामग्री पुर्‍याइएको छ । पानी परेपछि पोखरामै रोकिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहितको टोलीले राहत पुर्याएको हो ।  पहिरो प्रभावितलाई २० क्विन्टल चामल, २० क्विन्टल दाल, चिउरालगायत राहत सामग्री पुर्‍याएको हो । पानी परेपछि पहिरो प्रभावितलाई राहत बाँड्न हिँडेको परराष्ट्र मन्त्री ज्ञवालीसहितको टोली बिहानदेखि पोखरामा रोकिएको थियो ।

प्रभावित क्षेत्रको एक दर्जनभन्दा बढी स्थानमा पहिरोले सडक अवरुद्ध बनाएका कारण राहत सामग्रीहरु बोकेर गएका दर्जनौँ सवारीसाधनहरु बीचबाटोमा नै अलपत्र परेका छन् । सडक अवरुद्ध भएपछि घटना स्थलमा पुग्न दुई घण्टा पैदलयात्रा हिँड्नुपर्छ ।

सत्यवती गाउँपालिकाले सडक सुरु गर्न बीचबीचमा डोजर परिचालन गरे पनि पानी परिरहेको र पहिरो जाने क्रम नरोकिएकोले समस्या भएको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले बताउनुभयो ।

पहिरोका कारण त्यस क्षेत्रका चार सयभन्दा बढी बासिन्दाहरु सुरक्षित स्थानको खोजी गर्दै स्थानीय विद्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थाहरुमा पुगेर आश्रय लिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत ११, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया