डाेटीका वडा कार्यालयमा आगजनी गरेकाे भन्दै विप्लव कार्यकर्ताविरुद्ध किटानी जाहेरी

 साउन १५, २०७६ बुधबार १८:२४:५४ | विमल बिष्ट
unn.prixa.net

डोटी – शिखर नगरपालिका–७ को वडा कार्यालयमा आगजनी गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपाका डोटी कार्यकर्ता दीर्घबहादुर कुँवरविरुद्ध जिल्ला प्रहरी कार्यालय डोटीमा किटानी जाहेरी परेको छ । 

आगलागीबाट वडा कार्यालयमा भएका सम्पूर्ण कागजातहरु, फर्निचर, र भवन सबै जलेको वडाअध्यक्ष नरबहादुर बलायरले कुँवरविरुद्ध किटानी जाहेरी दिनुभएको प्रहरी स्रोतले जानकारी दिएको छ । वडा कार्यालयमा गएको साउन १२ गते राति आगजनी गरिएको थियो । 

त्यस्तै, गएको साउन ७ गते डोटीकै जोरायल गाउँपालिका–४ को वडा कार्यालयमा पनि नचिनेका मानिसको समूहले आगजनी गरेका थिए । आगजनीबाट वडाध्यक्ष र वडा सचिवको कार्यकक्षमा रहेका सम्पूर्ण कागजातहरु, फर्निचरलगायतका सामग्री जलेर नष्ट भएका छन् । घटनास्थलमा भेटिएको मोबाइल सेटको आधारमा प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको भए पनि नाम भने सार्वजनिक गरेको छैन ।

त्यस्तै, गएको जेठ महिनाको १४ गते राति बडीकेदार गाउँपालिका–४ मान्नाकापडीको वडा कार्यालयमा पनि आगजनी भएको थियो । वडा कार्यालय पूर्णरुपमा क्षति भएको वडाध्यक्ष वीरेन्द्र केसीले बताउनु भएको थियो । शिखर नगरपालिका–१ का वडाध्यक्ष खडकबहादुर शाहीले भन्नुभयो, ‘आगो लगाउने अनि पक्राउ नपर्ने हो भने अपराधीको मनोबल बढ्छ, गलत गर्नेलाई कानुनी सजाय हुनुपर्छ ।' 

उता जिल्ला कार्यालय डोटीका प्रमुख विद्यानन्द माझीले वडा कार्यालयमा आगजनी भएको घटनाको अनुसन्धान भैरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘शिखर र जोरायलको घटनामा संलग्न भएका केही पक्राउ परेका छन्, बडीकेदारमा आगजनी गर्नेको खोजी हुँदै छ, चाँडै सबै जना पक्राउ पर्नेछन् ।'

अन्तिम अपडेट: चैत १५, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया