सेती नदीको चट्टानमा फसेका गाईको उद्धार

 साउन २९, २०७६ बुधबार १५:१४:४९ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको दिपायल पिपल्ला नजिकै सेती नदीको भिरमा फसेका सात वटा गाईको उद्धार गरिएको छ ।

सेती नदीको चट्टानमा फसिरहेका सात वटा गाईलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयबासिन्दाको सहयोगमा बुधबार उद्धार गरी सुरक्षित ठाउँमा ल्याइएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नदीको चट्टानमा फसेका गाईको उद्धार गरिएको छ, कसैले पाल्न नसकेर वा सडकमा छोडिएका गाईहरु जानीजानी भिरमा धकेलेको जस्तो छ । कस्ले गरेको हो खोजी गर्न प्रहरीलाई आदेश दिएको छु ।’

गाई फसेको खबर पाएपछि प्रमुख जिल्ला अधिकारीको निर्देशनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी ३६ नम्बर गणको टोली तथा स्थानीय बासिन्दासहितको टोलीले झण्डै चार घण्टाभन्दा बढी समय लगाएर गाईको सकुशल उद्धार गरेको थियो ।

त्यस्तै उद्धार गरिएका गाईमध्ये केही दूधालु तथा केही गाईहरु ब्याउने अवस्थाका रहेको गाई उद्धार कार्यमा संलग्न स्थानीयवासी तेजबहादुर डुम्रेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘केही गाई दूध दिने जस्ता छन् भने केही गाई ब्याउने अवस्थाका छन्, कसले भिरमा फाल्यो अचम्म छ ।’

डोटी दिपायल पिपल्ला स्थित प्रमुख व्यापारिक केन्द्र पिपल्लामा छाडा रुपमा छोडिएका गाईहरु संकलन गरेर कसैले राति बगाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

गाई कसरी बगेका हुन् भन्ने बारेमा प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापति पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, ‘राम्रा गाईहरु भिरमा खसालेका छन्, कसले खसालेछ खोजी गर्दैछौँ ।’

अन्तिम अपडेट: चैत ७, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया