पूर्व–पश्चिम राजमार्गअन्तर्गतकाे अरुणखोला पुल मर्मत गर्न १५ दिन लाग्ने

 साउन ३०, २०७६ बिहिबार १६:१९:५३ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको  मध्यविन्दु नगरपालिकामा पर्ने अरुणखोला पुल मर्मतका लागि पन्ध्र दिन लाग्ने भएको छ ।

बुधबार बिहान पुलमा ट्रक ठोक्किएपछि लच्किएको पुल मर्मतका लागि १५ दिन जति लाग्ने सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर हरिप्रसाद सुवेदीले बताउनुभयो ।

पुलमा  थप क्षति नपुगे काम सुरु गरेको १५ दिनसम्ममा मर्मत सम्पन्न गर्न सकिने इन्जिनियर सुवेदीले बताउनुभयो । पुलबाट गाडी गुडाउँदा थप क्षति पुगेमा मर्मतका लागि समेत धेरै समय लाग्ने उहाँले बताउनुभयो ।

पुलमा अहिले ठूला सवारी चलाउन रोक लगाइएको छ । साना भारयुक्त गाडी लगेमा पुलमा थप क्षति पुग्ने सक्ने र यसले मर्मतमा समेत समय धेरै लाग्न सक्ने इन्जिनियर सुवेदीले बताउनुभयो ।

सडक विभागका कर्मचारीको टोलीले अहिले डाइभर्सनलाई मजबुत बनाउन लागि परेका छन् । सामान्य रुपम एकतर्फी रुपमा डाइभर्सनबाट सवारी आवतजावत गर्न सक्ने बुधबार नै बनाए पनि आज दुईतर्फी रुपमा डाइभर्सनबाट सवारी चल्न सक्ने बनाइएको छ । इन्जिनियर सुवेदीका अनुसार डाइभर्सनका दुवै छेउमा ढुङ्गाका जाली भर्ने काम समेत गरिने छ । आज र भोलि डाइभर्सन मजबुत बनाउन लाग्ने हुँदा  शनिबारबाट पुल मर्मतको काम सुरु गरिने उहाँले बताउनुभो ।

पुल मर्मतका लागि आवश्यक सामग्रीको अभाव नभएकाले समयमै मर्मत हुने इन्जिनियर सुवेदीले बताउनुभयो । चाडपर्वको समय भएकाले सकेसम्म १५ दिन भन्दा अगाडि नै पुल मर्मत गरी पूर्ण रुपमा पुलबाटै सवारी सञ्चालन गर्न आफूहरु लागिरहेको उहाँले बताउनुभयो ।

अघिल्ला वर्षहरुमा नवलपुरका लोकाहा, बौलाहा र जयश्री खोलाका पुलमा क्षति पुग्दा लामो समयसम्म मर्मत हुन नसकी डाइभर्सनबाट नै यातायात सञ्चालन गरिएको थियो । अरुणखोला पुल भाँचिएपछि अहिले त्यस क्षेत्रमा डाइभर्सनबाट यात्रा गर्नसमेत घण्टौं लाग्ने गरेको छ ।

डाइभर्सनको दुवैतर्फ झण्डै ५/५ किलोमिटर सवारीको लाइन लागेको अरुणखोला प्रहरी चौकीका प्रहरी नायब निरीक्षक जनकबहादुर बुढाले बताउनुभयो । आज डाइभर्सनलाई दुईतर्फी बनाउन लाग्दा यातायात धेरै रोकिएको उहाँले बताउनुभयो ।

सवारीको अव्यवस्थित लाइन लागेकाले अहिले अरुखोलाको भिड छिचोल्न सवारीलाई झण्डै तीन–चार घण्टा लाग्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया