डोटीमा जिल्लामै पहिलो पटक रेन्बो ट्राउट माछापालन सुरु

 साउन ३२, २०७६ शनिबार १६:६:४४ | विमल बिष्ट
unn.prixa.net

डोटी – जोरायल गाउँपालिका वडा नम्बर ५ गड्सेरामा पहिलो पटक रेन्बो ट्राउट माछापालन सुरु गरिएको छ । 

स्थानीय चार जना युवाको पहलमा रेन्बो ट्राउट माछापालन सुरु गरिएको हो । डोटीमा मात्रै नभइ सुदूर पश्चिम प्रदेशमै पहिलो पटक जोरायल वडा नम्बर-५, गड्सेरामा रेन्बो ट्राउट माछापालन सुरु गरिएको स्थानीय डम्बरबहादुर विष्टले बताउनुभयो । 

सिमडा गाउँका स्थानीय लिलाधर विष्ट, हेमबहादुर विष्ट तथा शेरबहादुर देउवाले जैविक कृषि उत्पादन तथा प्रवर्द्धन फर्म उद्योग दर्ता गरेर रेन्बो ट्राउट माछापालन सुरु गरेको गड्सेराका स्थानीय शिक्षक प्रकाशबहादुर रावलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हावा पानी मिल्ने र राम्रै उत्पादन हुने भएपछि केही साथीहरु मिलेर ट्राउट माछा पालन सुरु गरेका छन्, अहिले सम्म त राम्रै छ ।’

नेपाल सरकार मत्स्य विकास कृत्रिम तथा प्राकृतिक जलाशय मत्स्य विकास कार्यक्रम बालाजु काठमाण्डौको ५ लाख रुपैयाँ र जोरायल गाउँपालिकाको १ लाख गरी कुल ६ लाख रुपैयाँमा रुपियामा ५ हजार रेन्बो ट्राउट माछापालन (भुरा) सुरु गरिएको जैविक कृषि उत्पादन तथा प्रवर्द्धन फर्म उद्योगका सचिव तथा माछापाालन व्यवसायी लिलाधर विष्टले बताउनुभयो । 

‘लाखाैँ रकम लगानी गरेर माछा पालन सुरु गरेका छौँ, राम्रैसँग हुर्किन थालेका छन्, राम्रै आम्दानी हुन्छ होला,’ उहाँले भन्नुभयो । मत्स्य अनुसन्धान केन्द्र नुवाकोटका मत्स्य प्राविधिकको सहयोगमा नुवाकोट जिल्लाबाट माछाका भुरा ल्याइएको सचिव विष्टले जानकारी दिनुभयो । यसअघि मत्स्य विकास केन्द्र गेटा कैलाली र तत्कालीन जिल्ला कृषि विकास कार्यालय डोटीको प्रविधिक टोलीले गड्सेरामा रेन्बो ट्राउट माछापालन र भुरा उत्पादनका निमित्त परीक्षण गरेको थियो । 

चिसो र बहावयुक्त भएको पानीमा पालिने रेन्बो ट्राउट माछालाई मत्स्य अनुसन्धान केन्द्रको सबैभन्दा सफल माछाको रुपमा लिइन्छ । चिसोमा पानीमा पालिने भएका कारण यसको स्वाद विशिष्ट किसिमको हुनुका साथै आम्दानी पनि राम्रै हुने गरेको कृषि समन्वय इकाइ कार्यालय डोटीका प्रमुख किसनसिंह थापाले बताउनुभयो ।

‘चिसो पानीमा हुर्किने र हुर्काउनलाई पनि खासै मेहनत नचाइने भएकाले यो माछालाई आम्दानीको प्रमुख स्रोतका रुपमा लिइने गरेको छ’, उहाँले भन्नुभयो, ‘रेन्बो ट्राउट माछा शून्यदेखि २१ डिग्री सेन्टिग्रेड तापक्रममा बाँच्न सक्छ, यसको राम्रो वृद्धिका लागि १० देखि २० डिग्री सेन्टिग्रेड उपयुक्त मानिन्छ, जो तापक्रम गड्सेरामा छ ।’ 

नेपालमा रेन्बो ट्राउट माछा सन् १९८९ बाट सुरु गरिएको र जापान सरकारले तत्कालीन अवस्थामा ५० हजार माछाका भुरा नेपाल पठाएको थियो । नेपालको नुवाकोट जिल्लाको त्रिशूलीमा परीक्षण उत्पादनका लागि राखिएको थियो भने उत्पादन भएका रेन्बो ट्राउट माछा बेचबिखन गर्न सन् १९९७ बाट सुरु भएको कृषि समन्वय इकाइ कार्यालय डोटीका प्रमुख किसनसिंह थापाले बताउनुभयो । 

रेन्बो ट्राउट माछा बजारमा ठाउँ अनुसार प्रतिकिलो एक हजार ५ सयदेखि देखि दुई हजार रुपैयाँसम्म पर्ने गरेको छ । गड्सेरामा पालिएका माछा हेर्नेहरुको हिजो आज भिड लाग्ने गरेको छ । माछाका लागि आवश्यक पर्ने चारो बाहिरी जिल्लाबाट ल्याउनु पर्ने भएका कारण केही समस्या भएको माछापालन कृषक शेरबहादुर देउवाले बताउनु भयो । 

गड्सेरामा पालिएका माछाहरु आउँदो फागुन, चैत महिनादेखि बिक्री वितरण गर्न योग्य हुने माछापालन व्यवसायी लिलाधर विष्टले बताउनु भयो । उहाँले भन्नुभयो, ‘छिमेकी मुलुक भारतका केही शहरबाट उक्त माछाको माग आएको छ, हामी आगामी फागुन, चैत महिनामा भारतका केही ठाउँमा माछा पठाउने छौँ ।’

अन्तिम अपडेट: चैत १३, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया