कञ्चनपुरमा एक वर्षमा ३४ वटा बलात्कारका मुद्दा दर्ता

 भदौ ९, २०७६ सोमबार १४:९:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

कञ्चनपुर – कञ्चनपुरमा विगतको तुलनामा बलात्कारका घटना दोब्बरले बढेको तथ्यांकले देखाएको छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष बलात्कारका घटना झण्डै दोब्बरले बढेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा जबरजस्ती करणीका ३४ वटा मुद्दा दर्ता भएका छन् । यस्तै, जबरजस्ती करणी उद्योगमा २२ र जबरजस्ती करणीपछि कर्तव्य ज्यानमा एउटा मुद्दा दर्ता भएको छ ।

यसैगरी आर्थिक वर्ष २०७४/७५ मा जबरजस्ती करणीका १८ वटा मुद्दा दर्ता भएका थिए भने जबरजस्ती करणी उद्योगमा १५ वटा मुद्धा दर्ता भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

जबरजस्ती करणीमा पर्नेहरुमा सबैभन्दा बढी १६ वर्षमुनिका १४ जना र १७ देखि २५ वर्षका १७ जनारहेका छन् । त्यस्तै, २७ देखि ३५ वर्षका ४ जना, ३६ देखि ६० वर्षका २ जना र ६० वर्षमाथिका एक जना रहेको प्रहरीले जनाएको छ ।

कञ्चनपुरमा विगतका वर्षको तुलनामा बलात्कारका मुद्दा दोब्बरले बढेको कञ्चनपुरका प्रहरी प्रमुख एसपी दिनेशकुमार आचार्यले बताउनुभयो । उहाँले एक वर्षमा ३४ वटा बलात्कारका मुद्दा दर्ता भएकोमा ४१ जना प्रतिवादी पक्राउ परेको बताउनुभयो ।

बलात्कारका घटना बढी देखिनुको पछाडि आम नागरिकमा जनचेना बढ्नु र प्रहरीमा मुद्दा दर्ता गर्ने प्रवृत्तिको विकास भएको उहाँको भनाइ छ ।

‘पहिले बलात्कारका घटना भए पनि गाउँघरमै मिलाउने चलन देखिन्थ्यो’, एसपी आचार्यले भन्नुभयो, ‘अहिले नागरिकमा जनचेनता बढेकाले पनि हामीकहाँ रिपोर्ट गर्नुहुन्छ । जसले गर्दा बलात्कारका घटनाको बढी भएको देखिएको हो ।’

बलात्कारका घटनामा बढीजसो आफन्त, छिमेकी र चिनजानका मानिस नै संलग्न भएको पाइएको उहाँले बताउनुभयो । 

गएकाे वर्ष साउन १० गते कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तकाे बलात्कारपछि हत्या भएकाे थियाे । निर्मलाका हत्यारा अहिलेसम्म पनि पत्ता लाग्न सकेका छैनन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया