आज विश्व पानी दिवस : हिमनदी संरक्षणमा जोड दिएर नेपालमा पनि मनाइँदै

 चैत ९, २०८१ शनिबार ९:२२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज विश्व पानी दिवस, ‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ ।

पछिल्ला दिनमा जलवायु परिवर्तनका कारण हिमनदी सुक्दै गएको र त्यसले मानव जीवन र समग्र प्रकृतिमाथि ठूलो चुनौती थपिरहेको अवस्थामा यस पटक पानी दिवसको मूल नारा नै हिमनदीको संरक्षण राखिएको छ ।

सन् १९९३ यता हरेक वर्ष २२ मार्च तारिखमा मनाइने यो दिवस सुरक्षित तथा स्वच्छ पानीको महत्वमा केन्द्रित संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी पहल हो ।

सुरक्षित र स्वच्छ पानी व्यवस्थापनका लागि आवश्यक रणनीतिसहितको कदम चाल्न र यसबारे जनचेतना अभिवृद्धि गर्न यो दिवसले सहयोग गर्दै आएको छ ।

बढ्दो शहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, मौसम फेरबदल, अत्यधिक पानीको उपयोगलगायतका कारकबाट पानीका लागि सङ्कट थपिदो छ ।

विश्वभर कुल ९७ दशमलव पाँच प्रतिशत पानी समुद्रको रहेको छ । त्यो पानी नुनिलो भएकाले पिउन, सिँचाइ र विद्युत् उत्पादनको लागि समेत प्रयोग गर्न मिल्दैन ।

पानीको सदुपयोग गर्न नसक्दा संसारभर नै समस्या बढ्दै गएको छ । संसारभर उपलब्ध पानीमध्ये २ दशमलव ५ प्रतिशतमात्र पिउनयोग्य उपलब्ध छ । मूल, खोला, नदी, हिमनदीबाट उपलब्ध हुने पानी नै मानवीय प्रयोगका लागि उपयुक्त छ । पृथ्वीको उत्तरी तथा दक्षिणी ध्रुवमा उपलब्ध हुने पानी मानवीय उपभोगका लागि योग्य मानिएको छ ।

अन्तर्राष्ट्रिय पानी व्यवस्थापन संस्थाका अनुसार हरेक वर्ष एक जनाका लागि नौ हजार घनमिटर पानीको आवश्यकता पर्छ ।

नेपालमा प्रतिव्यक्ति कुल जलस्रोत उपभोग क्षमता तीन हजार ६०० घनमिटर पर्न आउँछ तर हाम्रोमा उपभोग दर प्रतिव्यक्ति तीन सय ९३ दशमलव पाँच घनमिटर छ ।

संसारभर १३ खर्ब ८६ अर्ब वर्गकिलोमिटर क्षेत्रमा पानी रहेको छ । विश्वका झण्डै एक अर्ब मानिस पानीको चरम समस्यामा छन् । नदीमा मानवीय अतिक्रमण बढेको, अनियमित तवरले भूमिगत पानी निकालिएको, पानीको रिचार्ज गर्नेतर्फ ध्यान दिन सकेको अवस्था छैन । वर्षातको पानी पनि खेर जान्छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार ४० देखि ६० प्रतिशत पानी चुहावट र दुरुपयोग हुने गरेको छ । विश्वभर रहेका सात अर्ब बढी मानिस २५ लिटरका दरले मात्रै पानी उपलब्ध गराउने हो भने एक खर्ब ७५ अर्ब लिटर पानी आपूर्ति गर्नुपर्ने हुन्छ ।

यसैबीच जल तथा ऊर्जा आयोगको सचिवालय र राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासङ्घको आयोजनामा ‘प्रथम राष्ट्रिय पानी सम्मेलन’ हुँदैछ ।

पहिलोपटक आज र भोलि राष्ट्रिय पानी सम्मेलन आयोजना गर्न लागिएको आयोगका सचिव मधुप्रसाद भेटुवालले जानकारी दिनुभयो । सरकारले पानीलाई उच्च प्राथमिकतामा राखेर विभिन्न गुरुयोजना निर्माण गरिरहेको उहाँले बताउनुभयो ।

२०७० चैत ६ गतेको निर्णयानुसार विश्व पानी दिवस मनाउँदै आए पनि सम्मेलन भने पहिलोपटक गर्न लागिएको हो । 
 

अन्तिम अपडेट: चैत ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया