आज हरितालिका तिज, नाचगान र पूजा उपासना गरेर मनाईंदै

 भदौ १६, २०७६ सोमबार ७:२६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज हरितालिका तिज नाचगान र पूजा उपासना गरेर मनाईंदैछ ।

पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा बिहानैदेखि दर्शनार्थी महिलाको घुइँचो लागेको छ । आज व्रत बसी शिव पार्वतीको पूजाआजा गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । 

आइतबार राति मीठा एवं आडिला परिकार दरका रुपमा खाएका व्रतको पूर्व तयारी गरेका व्रतालु आज विहानै पूजाआजाका लागि शिव मन्दिरमा पुगेका हुन् ।

दाजुभाइले दिदीबहिनीलाई बोलाएर दर खुवाउने गर्छन् । महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तिजलाई उपयोग गर्ने गरेका छन् ।

तिजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्ने चलन छ । पछिल्लो समय तीजका नाममा उच्छृङ्खलता र तडकभडक आएको भन्दै सस्कृतिविदले चिन्ता ब्यक्त गर्ने गरेका छन् । 

आज पशुपतिनाथ मन्दिरमा पुगेका भक्तजनका लागि आज चारवटा मार्गको व्यवस्था गरिएको छ । दर्शनार्थीले छिटो मन्दिरमा दर्शन गर्न सकुन् भनेर बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएका छन् ।

२०६५ सालदेखि भक्तजनका लागि बन्द गरिएको पूर्वी ढोका पनि खोलिएको पशुपति विकास कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले बताउनुभयो ।

भक्तजनले बढिमा दुई घण्टाभित्र दर्शन गरी फर्कन सक्ने कोषले दाबी गरेको छ । मन्दिरमा महँगा गहना लगाएर नआउन र साना बालबालिका पनि नल्याउन भक्तजनलाई कोषले आग्रह गरेको छ । 

गाडी पार्किङका लागि तिलगङ्गा आँखा अस्पतालतर्फको खुला क्षेत्र, सिफल चौर, गुह्येश्वरीपारिको खाली भाग, महानगरीय प्रहरी वृत्त गौशाला परिसरको खाली भाग छुट्याइएको छ । अहिले कुनै पनि गाडीको बाटो परिवर्तन नगरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: चैत ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया