देशभर सामान्य बदलीको सम्भावना, यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

 भदौ १८, २०७६ बुधबार ८:३०:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बुधबार देशैभर सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यूनचापीय रेखा (मनसुनी वर्षा गराउने प्रणाली)  नेपाल नजिकै रहेको र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशका सबैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

मौसमविद् कँडेलका अनुसार बुधबार केही ठाउँमा केही समय घाम लागे पनि फेरि पानी पर्ने सम्भावना छ । बुधबार राति धेरैजसो ठाउँमा चट्याङसहित पानी पर्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । पहाडी भूभागमा पहिरो र नदीमा आकस्मिक बाढी आउन सक्ने सम्भावना भएकाले हिँडडुल गर्दा सतर्क रहन पनि महाशाखाले आग्रह गरेको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान

भदौ १८  गते बुधबार
दिउँसो : देशभरी सामान्य बदली रही धेरै ठाउँमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । देशका थोरै ठाउँमा भारी वर्षाको सम्भावनासमेत रहेको छ ।

राति : देशभर सामान्य बदली रही पश्चिम तथा मध्यका अधिकांश र पूर्वका केही ठाउँमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै देशका थोरै ठाउँमा भारी वर्षाको सम्भावनासमेत रहेको छ ।

भदौ १९ गते बिहिबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही पूर्व र मध्यका पहाडी तथा पश्चिमी भेगका केही ठाउँमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति : देशभर सामान्य बदली रही केही ठाउँमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । साथै पश्चिमी पहाडी भेगका केही ठाउँमा भारी वर्षाको सम्भावना छ । 

भदौ २० गते शुक्रबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहने र पहाडी भूभागका थोरै ठाउँमा  मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति : देशभर सामान्य बदली रही केही मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । साथै पश्चिमी पहाडी भेगका केही ठाउँमा भारी वर्षाको सम्भावना छ । 

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया