नादेज्दा कप महिला फुटबल प्रतियोगितामा सहभागि हुन महिला फुटबल टिम कीर्गिस्तान प्रस्थान

 भदौ १८, २०७६ बुधबार १०:५४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

कीर्गिस्तानमा हुने नादेज्दा कप महिला फुटबल प्रतियोगितामा सहभागिता जनाउन नेपाली महिला फुटबल टिम बुधबार त्यसतर्फ प्रस्थान गरेको छ ।

 सेप्टेम्बर आठ ताखिरदेखि हुने प्रतियोगिताका लागि नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले बिदाइ गरे ।

बिदाइ कार्यक्रममा सिलवालले खेलाडीले खेल्नु अगाडि बीमा बिनाको खेलमा स्विकृति नदिन निर्देशन दिएका छन् । कुनै पनि प्रतियोगितामा सहभागिता जनाउन जानु भन्दा खेलाडी र रेफ्रिको बीमा अनिवार्य गराउनु पर्ने, यदि बीमा नभएको प्रतियोगितामा सहभागिताका लागि स्विकृति नै दिन नहुने उनले बताए । 

यसका साथै खेलाडीले जुन पायो त्यही प्रतियोगितामा सहभागि हुन पनि रोक्नुपर्ने उनले बताए । उनले भने एन्फाले निश्चित क्यालेन्डर बनाएर, कसरी प्रतियोगिता व्यवस्थापन गर्न सकिन्छ, त्यो अब गर्नुपर्ने र यदि एउटै खेलाडी सबै प्रतियोगितामा खेल्न जाँदैछन् भने उनीहरुलाई कसरी आराम पुग्ने गरी प्रतियोगितामा सहभागिता गराउनु पर्ने हो त्यो एन्फाले गर्नुपर्छ । 

खेलाडी घाइते भएपछि कसले जिम्मेवारी लिने, उनीहरुको प्रदर्शन कसरी राम्रो गराउन सकिन्छ भन्नेमा ध्यान दिन अब ढिलो नगर्नुपर्ने सिलवालको भनाइ थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया