सुदूर पश्चिम प्रदेशमा डेंगु रोगका १२ जना बिरामी भेटिए

 भदौ १९, २०७६ बिहिबार १७:११:१ | विमल बिष्ट
unn.prixa.net

डोटी – देशका विभिन्न स्थानमा देखिएको डेंगुको प्रकोप सुदूर पश्चिम प्रदेशमा पनि देखिएको छ । सुदूर पश्चिम प्रदेशमा डेंगु रोगका १२ जना बिरामी फेला परेका छन् । 

सुदूर पश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले सुदूर पश्चिम प्रदेशको दार्चुला जिल्लामा सबैभन्दा बढी पाँच जना डेंगु रोगका बिरामी भेटिएका छन् । त्यस्तै कैलालीमा चार जना, अछाममा एक जना, कञ्चनपुरमा एक जना र डोटीमा एक जनामा डेंगु रोग भेटिएको हो । डेंगु रोगबाट एक जनाको ज्यान गैसकेको छ । 

डोटी जिल्लामा डेंगु रोग देखा परेको बिरामीलाई उपचारका लागि काठमाण्डौ लगिएको जिल्ला अस्पताल डोटीका डाक्टर गिरीश अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले जिल्लामा चेक गर्दा रोग पत्ता लाग्न नसकेर कैलाली पठायौँ, त्यहाँ चेक गर्दा डेंगु रोग भेटिएपछि थप उपचारका लागि काठमाण्डौ पठाइएको छ ।’

डोटी लगायत अन्य जिल्लाहरुमा पनि डेंगु रोगका बिरामी देखा पर्न थालेपछि नियन्त्रणका लागि दिपायल सिलगढी नगरपालिकाले नगरस्तरीय अभियान नै सञ्चालन गरेको छ । बिहान र साँझको अस्ताउने बेलाको घामको समयमा डेंगु रोग फैलाउने लामखुट्टेले टोक्ने भएकाले त्यतिबेला सावधानी अपनाउन स्वास्थ्यकर्मीहरुले सल्लाह दिएका छन् । 

यस वर्ष पहिलो पटक चितवन जिल्लामा भेटिएको डेंगु रोग अहिले सुदूर पश्चिमका चार ओटा जिल्लामा देखा परेकोले सावधानी अपनाउनु पर्ने सुदूर पश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ । 

डेंगु रोग फैलाउने लामखुट्टेले सफा पानी अर्थात अक्सिजन भएको पानीमा फुल पार्ने र त्यो फुल झण्डै ६ महिनासम्म जीवित रहने भएकाले घरमा राखिएका खानेपानीका भाडा सधैँ सफा गर्नुपर्ने जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिन्टेन्डेण्ट डाक्टर भुषण मिश्रले बताउनुभयो । ‘डेंगु रोग फैलाउने लामखुट्टेले १०० एमएल पानीमा फुल पार्ने र फुल जीवित हुने भएकाले घरमा भएका बोतल, बिर्को लगायतका भाडा सधैँ धुने र सफा गर्ने गर्नुपर्छ’, उहाँले भन्नुभयाे । 

डोटीको दिपायल सिलगढी नगरपालिका–६ को थाप्लामा पहिलो पटक डेंगु रोगले एक जनाको ज्यान गएको थियो भने अर्का एक जना बिरामी परेका थिए । 

डेंगु रोग नियन्त्रणका लागि स्वाथ्यकर्मी, सुरक्षाकर्मी लगायतको टोली परिचालन गरिएको छ । रोग नियन्त्रणका लागि खटिएको टोलीले नगरपालिकाका विभिन्न वडामा गएर जनचेतनामूलक कार्यक्रम गर्ने तथा डेंगु रोग फैलाउने लामखुट्टेको पहिचान गरी नष्ट गर्ने कार्य गरिरहेको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनु भयो ।

डेंगु प्रभावित जिल्लाका विभिन्न वडा तथा क्षेत्रमा नियन्त्रणका लागि खटिएको सरकारी टोलीले अहिले धुँवा लगाउने (फगिङ) काम गर्दै आएको छ । 

अन्तिम अपडेट: चैत ९, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया