दादुराविरुद्धको खोप लगाउँदा ज्यान गुमाएका बालबालिकाका परिवारले ८ वर्षपछि पाए राहत

 भदौ २८, २०७६ शनिबार ९:४१:५४ | विमल बिष्ट
unn.prixa.net

डोटी – पूर्वीचौकी गाउँपालिका वडा नम्बर–५ (पहिलेको काडामाण्डौ गाविस) मा २०६९ सालमा दादुराविरुद्धको खोप लगाउँदा ज्यान गुमाएका ४ जना बालबालिकाका परिवारले राहत पाएका छन् ।

खोप लगाउने बेलामा असावधानीका कारण डोटीका चार बालबालिकाको ज्यान गएकोे थियो । बालबालिकाको मृत्यु भएको आठ वर्षपछि परिवारले राहत पाएका हुन् ।

खोपका कारणले मृत्यु भएका बालबालिकाका परिवारलाई सर्वोच्च अदालतले २०७५ असार १४ गते खोप लगाएपश्चात मृत्यु भएका बालबालिकाका परिवारलाई क्षतिपूर्तिस्वरुप जनही दश/दश लाख रुपैँया दिन नेपाल सरकारलाई आदेश गरेको थियो । अदालतको आदेशपश्चात स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्ला प्रशासन कार्यालय डोटीमार्फत पीडित बालबालिकाका अभिभावकको खातामा रकम जम्मा गराएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मदन भण्डारी फाउण्डेसनका अध्यक्ष लक्ष्मण मलासीमार्फत ४ जनाको  दश लाख रुपैयाँका दरले ४० लाख रुपैयाँको चेक जिल्ला प्रशासन कार्यालय डोटीमा पठाएको हो । प्राप्त रकम बैंक खातामार्फत पीडित परिवारलाई हस्तान्तरण गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्वास्थ्य मन्त्रालयले जिल्ला प्रशासनलाई रकम पठाएको थियो, हामीले पीडित परिवारलाई बैंक खातामार्फत हस्तान्तरण गरेका छौँ ।’

२०६९ सालमा दादुराविरुद्धको खोप लगाएलगत्तै मिलन नेपाली, सुजाता नेपाली, गौरी चिराल र अन्जु विकको मृत्यु भएको थियो । ढिलै भए पनि सरकारबाट न्याय पाएको आभास भएको अन्जुका बुवा हरिभक्त विकले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले धेरै पटक सबैसँग आग्रह ग¥यौँ तर राहत पाउन सकेका थिएनौँ, अहिले पायौँ, खुशी छौँ ।’

सर्वोच्चको फैलसापछि पनि छिटो काम गर्नका लागि धेरै पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धाउनु परेको मदन भण्डारी फाउण्डेसन डोटीका अध्यक्ष लक्ष्मण मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सर्वोच्च अदालतले क्षतिपूर्ति दिनु भन्ने फैसला कार्यान्वयनमा ढिलाइ भयो, पीडित परिवारसहित हामीले धेरै पटक धाउनु पर्‍यो, वर्षौंपछि राहत आयो, पीडितको घाउमा मलम लाग्ने छ ।’ 

अन्तिम अपडेट: चैत १८, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया