क्यानको निर्वाचन असोजमै, आईसीसीको निलम्बन फुकुवा हुने अपेक्षा

 भदौ ३०, २०७६ सोमबार १३:२९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन आगामी असोज १० र ११ गते हुने भएको छ ।  

नेपाल आएका अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) प्रतिनिधि र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालबीच भएको छलफलपछि क्यान निर्वाचनको नयाँ मिति घोषणा भएको छ ।  

आईसीसीबाट आएका उस्मान ख्वाजा र अमर शेखसँगको छलफलपछि निर्वाचन काठमाण्डौमा गर्ने निर्णय गरिएको हो ।

यसअघि स्वतन्त्र समितिले क्यान निर्वाचनको मिति असोज ३ र ४ गते तोके पनि राष्ट्रिय खेलकुद परिषद्ले प्रक्रिया नपुगेको भन्दै रोक्न आदेश दिएको थियो । परिषद्को निर्णयप्रति नेपाल क्रिकेट समर्थकले चर्को आलोचनासमेत गरेका थिए ।

क्यानको यो निर्वाचन नेपाली क्रिकेटका लागि महत्वपूर्ण छ । नेपाल क्रिकेट संघ विगत तीन वर्षभन्दा लामो समयदेखि निलम्बनमा छ । यो निर्वाचन भएको खण्डमा अक्टोबरमा हुने आईसीसीको बैठकबाट नेपालको निलम्बन फुकुवा हुने अपेक्षा गरिएको छ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया