केही अराजकतावादी तत्वहरु गणतन्त्रको कलिलो मुनालाई निमोठ्न लागिपरेका छन् : प्रचण्ड

 भदौ ३०, २०७६ सोमबार १४:०:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी तत्वहरु सलबलाइरहेको भन्दै प्रतिवादमा उत्रन पार्टीका युवा, विद्यार्थीहरुलाई आह्वान गर्नुभएको छ । 

अध्यक्ष प्रचण्डले हजारौँ शहीदहरुको बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई कलिलैमा निमोठेर फाल्न केही अराजकतावादी तत्वहरुले जनताको भ्रम फैल्याउने प्रयास गरिरहेको बताउनु भयो । उहाँले त्यसप्रति सचेत रहँदै समाजवाद निर्माण गर्ने सपना पूरा गर्ने काममा लाग्न सिंगो पार्टी पंक्ति तथा आम जनसमुदायलाई पनि आग्रह गर्नुभयो । 

नेता पोष्टबहादुर बोगटीको पाँचौं स्मृति दिवसको अवसरमा काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले केही अराजकतावादी तत्वहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको कलिलो मुनालाई निमोठ्न सकिन्छ कि ! भन्ने दुस्साहस गरिरहेको भन्दै त्यसप्रति सचेत रहन सबैलाई अपिल समेत गर्नुभयो । 

‘केही अराजकतावादी तत्वहरुले जनतामा भ्रम सिर्जना हुनेगरी हत्केलाले सूर्य छेक्न खोजेजस्तो गरी दुस्साहस गरिरहेका छन्,’ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘त्यस्ता संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी तत्वहरुप्रति सचेत रहन र त्यसको प्रतिवादमा उत्रन म युवा र विद्यार्थीहरुलाई विशेष रुपमा आह्वान गर्दछु ।’

अध्यक्ष प्रचण्डले समाजवाद निर्माण गर्ने नेपाली जनताको चाहनामाथि तुषारापात हुन नदिने विश्वास पनि व्यक्त गर्नुभयो । त्यस अवसरमा उहाँले नेता बोगटीलाई निष्ठावान्, चरित्रवान् नेताको रुपमा चित्रण गर्दै उहाँले देखाएको बाटोबाटै समाजवाद निर्माणको महाअभियानलाई सफल बनाउन सकिने धारणा राख्नुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया