दैनिक ४० मेगावाट बिजुली भारत निर्यात, वितरणमा समस्या हुँदा राति उत्पादन नै बन्द !

 भदौ ३०, २०७६ सोमबार १६:५२:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले दैनिक ३० देखि ४० मेगावाट बिजुली भारत निर्यात गरिरहेको जनाएको छ । 

नेपालमा उत्पादन पनि बढिरहेको र वितरण प्रणालीमा बेलाबेलामा समस्या आइरहेकाले दैनिक ३० देखि ४० मेगावाट बिजुली भारतको बिहारमा निर्यात भैरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

‘केही ठाउँमा बत्ती आउने जाने भैरहेको छ, तर हामीसँग बिजुली नभएर त्यस्तो भएको होइन, वितरण लाइनमा भएको खराबीले हो’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘हामीले अहिले पनि रक्सौल–परवानीपुर प्रसारण लाइनमार्फत चौबिसै घण्टा ३० देखि ४० मेगावाट बिजुली पठाइरहेका छौँ, उनीहरुले पनि औपचारिकरुपमा मागिरहेका छन् ।’

बर्खाको समयमा कुनै कुनै समयमा नेपालमा विद्युतको लोड नै नहुने भएकाले केही आयोजना राति बन्द गर्नुपर्ने अवस्था रहेको पनि उहाँले दाबी गर्नुभयो । 
‘शनिबारको कुरा गर्दा हाम्रो उत्पादन १० हजार मेगावाट आवर हुनुपर्नेमा जम्मा ७ हजार मेगावाट आवर मात्रै उत्पादन भएको छ, किनकि धेरै वितरण लाइनमा समस्या आउँदा लोड नै पर्याप्त भएन, हाम्रा धेरै उत्पादन गृहहरु रातभरि नै बन्द गर्नुपर्‍यो’, घिसिङले भन्नुभयो । 

अहिलेको बर्खामा बिजुलीको माग कहिले निकै उच्च हुने र कहिले निकै कम हुने गरेको पनि प्राधिकरणले जनाएको छ । १/२ दिन पानी नपर्दा देशैभरिको माग बढ्ने र भोल्टेज व्यवस्थापन गर्न गाह्रो हुने तर लगातार पानी पर्दा तथा वितरण लाइनमा समस्या आउँदा माग कम हुने प्राधिकरणले जनाएको छ । 

हिजोआज झ्याप्प झ्याप्प बिजुली किन गैरहन्छ  ?

नेपाल विद्युत् प्राधिकरणले औपचारिक घोषणा गरेर नेपाल लोडसेडिङमुक्त भएको बताएको २ वर्ष पुगिसकेको छ । देशकै उत्पादन व्यवस्थित गर्ने, पुराना संरचना फेर्ने, थला परेका आयोजना पूरा गरेर र भारतबाट बिजुली आयात गरेर प्राधिकरणले देशलाई लोडसेडिङमुक्त बनाइसकेको छ । अहिले बर्खाको समयमा त लगभग नेपालमै उत्पादन भएको बिजुलीले पुग्ने अवस्था छ । 

तर पनि हिजोआज झ्याप्प झ्याप्प बिजुली गैरहन्छ । सामाजिक सञ्जालमा व्यङ्ग्य गर्दै ‘कुलमान जानुभयो, कुलमान हराउनुभयो’ जस्ता प्रतिक्रिया आइरहन्छन् । 

प्राधिकरण सम्हालेको ३ वर्ष पुगेको अवसरमा भएको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशकलाई प्रश्न आयो, ‘लोडसेडिङ हट्यो भन्नुहुन्छ तर बत्ती किन झ्याप्प झ्याप्प गैरहन्छ ?’

कार्यकारी निर्देशकले जवाफमा भन्नुभयो, ‘हामीसँग बिजुली अपुग भएर बिजुली काटिएको होइन, त्यसैले यसलाई लोडसेडिङ भन्न मिल्दैन, बरु हाम्रा पुराना संरचनाले धान्न छाडेका हुन्, हामीले हजारौँ पाेल र ट्रान्सफर्मर फेरिसक्यौं तर अझै धेरै ठाउँमा पुराना संरचनाको कारणले बत्ती गएको हो ।’

यस्तै चैत वैशाखदेखि भदौ असोजसम्म हावाहुरी र बर्खाको कारण धेरै ठाउँमा खम्बा र रुख ढाल्ने अनि बाढीका कारण विद्युत गृह नै बन्द गरिदिनुपर्नेसम्मका समस्या आएकाले कहिलेकाँही बिना योजना र बिना सूचना नै बिजुली काट्नुपर्ने बाध्यता रहेको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । 

तर असोजदेखि फागुनसम्म भने यस्ता प्राविधिक समस्या निकै कम हुने उहाँको भनाइ छ ।

यस्तै सडक र ढल बनाउँदा खम्बा सार्ने काम भैरहँदा पनि बिजुली गएको हुन सक्ने भन्दै घिसिङले भन्नुभयो, ‘उदाहरणको लागि चावहिलमा सडक बनाउने काम भैरहेको हुन्छ, तर त्यहाँ खम्बा सार्दा कहाँ कहाँसम्मको बिजुली गएको हुनसक्छ, हामी मात्रै नभएर अरु निकायको कारण पनि बत्ती गैरहेको छ ।’

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया