सभामुख महरामाथि गम्भीर आरोप, सचिवालयको कमजोर खण्डन, छानबिन अत्यावश्यक

 असोज १४, २०७६ मंगलबार ९:५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लागेको छ । संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले सभामुख महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी हुन् । तर सभामुख महराको सचिवालयले भने महरामाथि महिला कर्मचारीले लगाएको आरोप निराधार र कपोलकल्पित भन्दै खण्डन गरेको छ ।

महिलालाई उध्दृत गर्दै सभामुख महरा र आफ्ना पति एउटै पार्टीमा रहेको, आइतबार बेलुकी महराले फोन गर्दा आफूले नआउन भनेको, आउन लाग्दा रक्सी नल्याउन भनेको, रक्सीको बोतल बोकेर आएका सभामुखले काठमाण्डौको तीनकुनेमा रहेको आफ्नै डेरामा आएर कुटपिट र बलात्कार गरेको समाचार हाम्राकुरा डटकम अनलाइनले प्रकाशित गरेको थियो । 

घटनास्थलमा पुगेको तीनकुने प्रहरीले सभामुख महराले हानेको मुक्काबाट महिला घाइते भएको फोटो र महराले खाँदाखाँदै छाडेको रक्सीको बोतलसमेत घटनास्थलको जाँच गरेको दाबी पनि महिलाको छ । सभामुख महराले जबर्जस्ती गरेपछि महिला आफैँले १०० नम्बरमा फोन गरी प्रहरीलाई खबर गरेको र आफूमाथि जबर्जस्ती भएकोबारे नेकपाका महिला नेतृहरु ओनसरी घर्ती र पम्फा भुसाललाई म्यासेज गरेर जानकारी गराएको ती महिलाको भनाइ छ । आफ्ना पति पनि नेकपामै रहेकाले महरा पहिले पनि आफ्नो कोठामा आएको महिलाले बताएकी छिन् ।

महराले सोमबार बिहानआफूलाई हिजोको कुरा बिर्सनु भनेर म्यासेज पठाएर आइतबारको घटना बिर्सन र अघि नबढाउन भनेको ती महिला कर्मचारीको दाबी छ ।

सभामुखको सचिवालयले भने सभामुख महरा आइतबार दिउँसो १२ बजे सिंहदरबारको आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजे बालुवाटार निवास फर्किएपछि कतै नगएको भन्दै विज्ञप्ति निकालेको छ । ‘सभामुखको राजनीतिक उचाइ, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने षड्यन्त्र भएको छ, यो सुनियोजित र योजनाबद्ध छ,’ विज्ञप्तिमा भनिएको छ ।

सभामुखमाथि यौन दुर्व्यवहारको आरोप लगाउने महिलाले प्रहरीमा जाहेरी भने दिएकी छैनन् । जाहेरी नपरेका कारण प्रहरीले यसबारे आधिकारिक जानकारी नभएको बताएको छ ।

स्मरणीय छ, यस अघि महरालाई माओवादी शिवीरमा लडाकुलाई बाड्न लिएको करोडौँ रकम हिनामिना गरेको आरोप लागेको थियो भने त्यसपछि संविधानसभाको बैठकमै टेलिफोन वार्ताको एक अडिओ सुनाउँदै सांसद खरीद गर्न चिनियाँहरुसित महराले करोडौँ रुपैँयाको डिल गरेको आरोप लागेको थियो । महरामाथि लागेका ती दुबै आरोपबारे अहिलेसम्म छानबिन भएको छैन ।

सभामुखको सचिवालयले निकालेको विज्ञप्तिमा महिलाले लगाएका सम्पूर्ण आरोपलाई कपोलकल्पित, दुराययुक्त जस्ता कडा शब्दमा खण्डन गरिएको छ । तर आरोपको गम्भीरता हेर्दा यो घटनामा सभामुख पदको गरिमाका लागि घटनाको निस्पक्ष छानबिन हुनु जरुरी देखिन्छ । तर सभामुखको सचिवालयले निकालेको विज्ञप्तिमा निस्पक्ष छानबिनका लागि बाटो खुला हुने संकेतसम्म दिइएको छैन ।

अन्तिम अपडेट: चैत ११, २०८०

1 Comments

  • Khadga Bahadur Rai

    Oct. 1, 2019, 11:26 a.m.

    उसो हो भने भ्रामक समाचार सम्प्रेशण गरी सभामुखको प्रतिस्ठा गिराउन खोज्ने सम्पूर्ण मिडियाहरुलाई कारबाहीको दायरामा ल्याउनु होस् । यदि त्यसो गरिएन भने समाचार सत्य हो नभनी अरु के भन्ने ?

  •  0 Reply

तपाईको प्रतिक्रिया