नेपाल र अस्ट्रेलियाबीच हवाई सम्झौता, नेपालले हवाई सम्झौता गरेका देशको संख्या ४० पुग्यो

 असोज १४, २०७६ मंगलबार १०:१९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल र अस्ट्रेलियाबीच हवाई सेवा सम्झौता भएको छ । दुई देशबिच सोमबार राति सम्झौतामा हस्ताक्षर भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव सुरेश आचार्यले जानकारी दिनुभयो । सम्झौतामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्य र अस्ट्रेलियाको संघीय पूर्वाधार, यातायात, शहरी एवं क्षेत्रीय मन्त्रालयका कार्यकारी निर्देशक जिम होल्फले हस्ताक्षर गरेका छन् ।

क्यानडाको मन्ट्रीयलमा रहेको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) प्रधान कार्यालयमा भएको सम्झौता अनुसार अब दुबै देशका जुनसुकै प्रकारका विमानले हप्तामा ७ वटासम्म उडान गर्न पाउनेछन् । तर अस्ट्रेलियाका ४ र  नेपालको काठमाण्डौबाहेकका  अन्य विमानस्थलमा भने क्षमताका आधारमा थप उडान हुन सक्नेछन् । अस्ट्रेलियाका पर्थ, मेलबर्न, ब्रिसबेन र सिड्निमा हप्ताको सात उडान मात्रै भए पनि अन्य सहरमा भने नेपाली विमान जान सक्नेछन्, यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक अन्यमा अस्ट्रेलियाका विमानले सातभन्दा धेरै उडान गर्न पाउनेछन् ।

समझदारी अनुसार अस्ट्रेलिया र नेपालका विमानले दक्षिण एसिया, दक्षिणपूर्वी एसिया र मध्यपूर्वका कुनै दुई बिन्दुहरु उपयोग गर्दै मध्यवर्ती बिन्दु भएर पाँचौ हवाई ट्राफिक अधिकारको उपयोग गर्न पाउनेछन् । सह–सचिव आचार्यले दिएको जानकारी अनुसार नेपाली विमानले अस्ट्रेलियाका गन्तव्य बिन्दुभन्दा परको रुपमा न्युजिल्याण्डका दुई वटा विन्दुहरुमा पाँचौं ट्राफिक अधिकारको प्रयोग गर्न पाउने छन् भने अष्ट्रेलियन पक्षको हकमा नयाँदिल्ली बाहेक नेपालका गन्तव्य बिन्दुभन्दा परको रुपमा दुई विन्दुहरुमा पाँचौं ट्राफिक अधिकार प्रयोग गर्न पाउने छन् ।

सहमतिमा कार्गो उडानमा संख्या निर्धारण नगर्ने र जति पनि उडान गर्न पाइने र त्यसको लागि पाँचौ ट्राफिक अधिकारको प्रयोग गर्नपाउने उल्लेख छ ।  उडान संख्या अपुग भएमा अर्को सहमति गरेर संख्या थपिने पनि समझदारीमा उल्लेख  छ । 

यो सँगै नेपालले हवाई सम्झौता गरेका देशको संख्या ४० पुगेको छ । तर नेपाल वायुसेवा निगमको सुरक्षा अडिट नभएको, युरोपेली युनियनले नेपाललाई कालोसूचीमा राखेकोलगायतका कारण धेरै देशका विमानस्थलले स्लट अर्थात् उडान तालिका दिन मानेका छैनन् ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया