एसिड आक्रमणमा परेकी मुस्कानलाई अमिताभ बच्चनले पठाए भिडियो सन्देश

 असोज १५, २०७६ बुधबार १८:८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – केही हप्ताअघि वीरगञ्जमा १५ वर्षीया बालिका मुस्कान खातुनलाई स्थानीय दुई किशोरले एसिड प्रहार गरेका थिए । अहिले उनको कीर्तिपुर अस्पतालमा उपचार भैरहेको छ । 

यही सन्दर्भमा बलिउड अभिनेता अमिताभ बच्चनले भिडियो सन्देश पठाएर मुस्कानको हौसला बढाउने काम गरेका छन् । 

अमिताभले भने, ‘मलाई तपाईँको बारेमा उत्तराखण्डको नैनीतालमा रहेको शेरवुड कलेजमा सँगै पढेको मित्र उज्ज्वल थापाले बताउनुभयो । तपाईँप्रति जे भयो, त्यो निकै दर्दनाक छ । यो कुरा सुनेर म निकै दुःखी भएँ ।’

अमिताभले मुस्कानलाई निकै बहादुर हुनुहुन्छ भन्दै हौसला र साहस बढाउने काम गरे । ‘जे घटना तपाईँमाथि घट्यो, त्यो अरु कसैसँग नघटोस् । तपाईँ नाम जस्तै सधैँ हाँसिरहनुस् र तपाईँको मुहारमा खुशी नै सुहाउँछ’, उनले भने । 

साथै अमिताभले मुस्कानमाथि आक्रमण गर्नेलाई कानुनअनुसार कारबाही हुनुपर्नेमा पनि जोड दिएका छन् । उनले मुस्कानको स्वास्थ्य लाभको कामना पनि गरे । 

तस्बिर/भिडियाे उज्ज्वल थापाकाे फेसबुकबाट

यसअघि बलिउड अभिनेता वरुण धवन र अभिनेत्री कृति सेननले पनि मुस्कान खातुनकाे स्वास्थ्य लाभकाे कामना गर्दै भिडियाे सन्देश पठाएका थिए ।

त्यस्तै 'भ्वाइस अफ् नेपाल' सिजन-२ का कोच राजु लामाले पनि मुस्कानसँग भेटेर सँगै गीत गाउँदै उनको साहस बढाउने काम गरेका थिए । 

वीरगञ्ज महानगरपालिकाका-३ छपकैयाकी १५ वर्षीया छात्रा मुस्कान शुक्रबार बिहान विद्यालय जाँदै गरेको बेला उनीमाथि गएको भदौ २० गते स्थानीय दुई किशोरले एसिड प्रहार गरेका थिए ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया