दाउन्नेको जाम खुल्यो, जाममा परेका गाडी गन्तव्यतर्फ लागे

 असोज १७, २०७६ शुक्रबार १३:२८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

नवलपरासी – दुई वटा ट्रक ठोक्किएपछि नवलपरासीको  पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा अवरुद्ध भएको यातायात पूर्ण रुपमा सञ्चालनमा आएको छ ।

झण्डै १६ घण्टापछि यातायात पूर्ण रुपमा सञ्चालनमा आएको हो ।  बिग्रिएको ट्रकलाई के्रनको सहायताले सडकबाट हटाएसँगै यातायात दुईतर्फी रुपमा नै सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय दुम्किबासका प्रमुख अविनाश अधिकारीले बताउनुभयो ।

बिहीबार राति ९ बजे विनयी त्रिवेणी गाउँपालिका–२, अन्तर्गत दाउन्नेमा दुई वटा भारतीय नम्बरका ट्रक एकापसमा ठोक्किएर सडक छेउमा पल्टिँदा सवारी सञ्चालनमा समस्या भएको थियो  । यूपी ५३ सीटी ९३२६ र यूपी ५३ जेजे १२ ३९ नम्बरको भारतीय ट्रक एकापसमा ठोक्किँदा राति केहीबेर पूर्ण रुपमा यातायात बन्द भएको थियो ।

त्यसपछि एकतर्फी रुपमा सञ्चालनमा आएको यातायात अहिले पूर्ण रुपमा दुईतर्फी रुपमा नै सञ्चालन आएको छ । दुर्घटना स्थलको दुवैतर्फ झण्डै ५–५ किलोमिटर गाडीको लाम लागेको थियो ।

बिग्रिएको ट्रक हटाएर दुईतर्फी रुपमा यातायात सञ्चालन गरिएपछि  जाममा परेका गाडी आ–आफ्ना गन्तव्यतर्फ लागेका छन् ।

सम्बन्धित समाचार

 


अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया