चिनियाँ राष्ट्रपतिकाे नेपाल भ्रमण : ताक्लाकोट सडकले प्राथमिकता पाउनेमा डाेटी र बझाङका नागरिक आशावादी

 असोज २४, २०७६ शुक्रबार १७:५८:५२ | विमल बिष्ट
unn.prixa.net

डोटी – छिमेकी मित्रराष्ट्र चीनका राष्ट्रपति सी जिनपिङको यही असोज २५ गतेदेखि नेपालमा हुने दुई दिवसीय राजकीय भ्रमणले सुदूर पश्चिम प्रदेशको डोटी, बझाङलगायतका जिल्लाका स्थानीयमा उत्साह थपिएको छ । 

डोटीको दिपायल, सायल, बझाङ जिल्ला हुँदै चिनियाँ सीमा ताक्लाकोट जोड्ने सडक निर्माण हुने विषयमा कुरा चलेपछि यहाँका स्थानीयमा उत्साह थपिएको हो । चीनको ताक्लाकोटसम्म जोड्ने सडक सबैभन्दा छोटो दुरीको हुने भएपछि उनीहरु खुशी भएका हुन् । 

सडक ताक्लाकोटसम्म पुर्‍याउन सके डोटीको पर्यटन, आर्थिक व्यापार प्रवर्द्धन, पूर्वाधार विकास तथा सांस्कृतिक क्षेत्रको उल्लेख्य विकास हुने सायल गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘चीनको ताक्लाकोट जोड्ने सडक सुदूर पश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड जोडिएर गएकोले त्यो सडक ताक्लाकोटसँग जोड्ने सके डोटीसहित समग्र सुदूर पश्चिममा विकासको कायापलट हुनेछ ।’ 

राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा ताक्लाकोट जोड्ने सडक विकासको विषयमा माग गरिदिन स्थानीयले सबै राजनैतिक दलहरुसँग आग्रह समेत गरेका छन् । 

डोटीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रेमबहादुर आलेमगरले ताक्लाकोट सडकका विषयमा राष्ट्रपति सीसँग छिटो निर्माणका लागि माग गरिने बताउनुभयो । ‘ताक्लाकोटसम्म सडक पुर्‍याउन हामी लागिपरेका छौँ, चिनियाँ राष्ट्रपति सी जिनपिङसँग सडकका विषयमा कुरा राख्ने छौँ’, उहाँले भन्नुभयो । 

ताक्लाकोट जोड्ने सडक अहिले डोटी र बझाङ जिल्लाको सीमा क्षेत्र थराला गाउँपालिकासम्म पुगेको सायल गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार दिपायलबाट बझाङ जिल्लाको त्यो क्षेत्र जम्मा ६५ किलोमिटर मात्र छ ।

त्यो सडकमा अहिले महेन्द्रा पिकअप जीपहरु चल्न थालेका छन् । त्यो सडक ताक्लाकोटसम्म पुर्‍याउन सके डोटी तथा बझाङका बासिन्दाले रोजगारी पाउनुका साथै आयस्तरमा पनि वृद्धि हुनेसायल गाउँपालिकाका स्थानीय तथा सामुदायिक विकास मञ्च डोटीका अध्यक्ष भक्तबहादुर सिंहले बताउनुभयो । 

डोटीबाट बझाङ जाने सडक विस्तार तथा स्तरोन्नति हुन नसक्दा बझाङका स्थानीयहरु महँगो भाडा तिरेर झण्डै एक सय बढी किलोमिटरको जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । 

यही सन्दर्भमा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा ताक्लाकोट सडकले प्राथमिकता पाउनेमा स्थानीयहरु निकै आशावादी छन् । 

अन्तिम अपडेट: चैत १६, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया