स्पेनिस कप्तान रामोस युरोपकै अनुभवी खेलाडी

 असोज २६, २०७६ आइतबार ७:५१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

युरो छनोटमा नर्वेविरुद्धको खेलसँगै स्पेनिस कप्तान सर्जियो रामोस समकालीन खेलाडीमध्ये युरोपकै अनुभवी बनेका छन् ।

उनी स्पेनको मात्र होइन अहिले खेलिरहेका खेलाडीमध्ये युरोपमै सबैभन्दा धेरै क्याप जित्ने पुरुष खेलाडी बनेका छन् । नर्वेसँग १-१ गोलको बराबरीमा सकिएको खेलमा रामोसले स्पेनका लागि कीर्तिमानी १६८ औं क्याप पूरा गरे ।

यसअघि विश्व विजेता गोलरक्षक तथा कप्तान इकर कासिलासको कीर्तिमान रामोसले तोडेका हुन् । नर्वेसँगको बराबरीपछि स्पेन पनि अर्को वर्ष हुने युरोकपको छनोट नजिक पुगेको छ ।

दोस्रो हाफको सुरुमै साउल निगुजले गोल गरी स्पेनलाई अग्रता दिलाएका थिए । तर, खेलको इन्ज्यूरी समयमा जस किंगले पेनाल्टीमार्फत नर्वेका लागि बराबरी गोल गरेका थिए । यो बराबरीले स्पेनको शतप्रतिशत नतिजा यात्रामा पूर्णविराम लागेको छ ।

समूह एफमा स्पेनको ७ खेलबाट १८ अंक भएको छ । समान खेलबाट स्वीडेनको १४, रोमानियाको १३ र नर्वेको १० अंक छ । एक जित निकालेको माल्टा र अहिलेसम्म जितबिहीन फारो आइल्यान्ड प्रतियोगिताबाट बाहिरिने निश्चित भइसकेको छ ।

'ब्यक्तिगत सफलता केहि हदसम्म गौण हुन्छ,' खेल सकिएपछि कप्तान रामोसले भनेका छन्, 'यदी टिमले जित्न सकेको भए मैले मेरो सफलतामा पनि खुसियाली मनाउने थिएँ, त्यस्तो भएन । यति लामो समयपछि कीर्तिमान बन्नु मेरा लागि शानदार पुरस्कार हो । यो गर्वको श्रोत हो ।'

'म हरेक समय यो जर्सी लगाउँदा भावुक हुन्छु । र यो क्रम कहिल्यै रोकिने छैन । म चाहन्छुले आगामी धेरै वर्ष मैले यही जर्सी लगाएर मैदानमा निरन्तर खेल्न सकूँ,' उनले थपे ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया