सुकेटार विमानस्थल स्तरवृद्धिको काम सुरु

 कात्तिक १५, २०७६ शुक्रबार १०:१५:४ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ  – सुकेटार विमानस्थलमा कालोपत्रे (पिच) गरेको चार वर्षपछि स्तरवृद्धिको काम सुरु भएको छ । 

चालू आर्थिक वर्ष २०७६/७७ का लागि १६ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो ।  यो बजेटले विमानस्थलको स्तरवृद्धिसँगै विमानस्थल प्रवेश मार्ग, यात्रु प्रतिक्षालयसहितका थप संरचनाहरु निर्माण गर्न थालिएको हो ।

विनियोजित बजेट कार्यान्वयन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण इन्जिनियरिङ विभागले असार पहिलो साता नै ठेक्काका लागि बोलपत्र आह्वान गरी ठेक्का लगाएको थियो । ठेक्का लिएको कप्पनी खड्का कृष्ण/बङ्गलामुखी जेभी कन्सट्रक्सनले गएको महिनादेखि नै काम सुरु गरेको छ । यो कम्पनीले आठ करोड ९९ लाख ५० हजार ३४९ रुपैयाँमा ठेक्का पारेको प्राधिकरणका इन्जिनियर पुष्पराज न्यौपाने जानकारी दिनुभयो । 

इन्जिनियर न्यौपानेका अनुसार विमानस्थल स्तरवृद्धिको कार्य गर्दा अहिले कायम रहेको संरचनामाथि थप धावनमार्ग वृद्धि र स्तरोन्नति, यात्रु प्रतिक्षालय, सुरक्षा जाँचका लागि व्यवस्थित कक्ष निर्माणलगायतका काम हुने बताउनुभयो । 

गएको चैत महिनामा नागरिक उड्ययन प्राधिकरणको अनुबन्धमा रियलपाथ इन्जिनियरिङ कन्सलटेन्सीले सर्भेको कार्य गरेको थियो । 

अहिले विमानस्थलमा भएको धावन मार्गको लम्बाइ ७०० मिटरबाट बढाएर ९०० मिटर बनाउनेगरी सर्भे भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

अहिले कायम रहेको ७०० मिटर लम्बाइ र २० मिटर चौडाइको विमानस्थलमा नेपाल वायु सेवा निगमको ट्वीनेटर जहाज र १८ सिट क्षमताका अन्य जहाजले उडान भर्ने गरेका छन् । अहिले नेपाल वायु सेवा निगमको जहाज हप्तामा तीन पटक आउने गरेको निगमका कर्मचारी विकास राईले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया