कालंगा जलविद्युत आयोजनाको सुरूङभित्र फसेका ४ जनामध्ये ३ जनाकाे शव फेला

 कात्तिक १८, २०७६ सोमबार २०:२८:९ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - बझाङको बुंगल नगरपालिकामा निर्माण भैरहेको कालंगा हाइड्रो प्रालिको सुरूङभित्र फसेका चार जनामध्ये तीन जना मजदुरको शव फेला परेको छ ।आइतबार दिउँसो सुरुङभित्र काम गर्न पसेका उनीहरु नफर्केपछि खोजी सुरु गरिएको थियो ।  

सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट चार जना र दिपायलबाट पाँच जनाको विषेश टोलीसहित नौ जनाको उद्धार टोलीले सुरुङभित्र खोजतलास गर्दा तीन जनाको शव फेला पारेको हो । 

सुरुङभित्र पसेका चार जनामध्ये दैलेखकाे गुराँस गाउँपालिका ३ का ३२ वर्षीय महेन्द्र शाही, त्यही ठाउँका कर्ण शाही र अछामको तुर्माखाँद गाउँपालिका ६ का २८ वर्षीय महेन्द्र साउदको शव फेला परेको बझाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले जानकारी दिनुभयो । 

फेला परेको तीनै जनाको शवलाई अहिले सुरुङबाट बाहिर निकालिएको पनि उहाँले जानकारी दिनुभयो । बझाङको बुंगल नगरपालिका वडा नम्बर १ का ३५ वर्षीय शेरसिहँ धामी भने अझै बेपत्ता रहेको र उनको पनि खाेजी भइरहेको उहाँले बताउनुभयो ।   

उद्धार टोलीले तिनै जनाको शव सुरुङको १ किलो मिटर पर फेला परेको थियो । सोमबार तीन जनाको मात्रै शव फेला परेको र एक जना अझै बेपत्ता रहेकाले अब मंगलबार फेरि खोजी जारी रहने नायब उपरीक्षक बमले जानकारी दिनुभयो । 

काम गर्नका लागि उनीहरुले सुरुङ भित्र ट्रयाक्टरसमेत लिएर गएका थिए । सुरुङभित्र अक्सिजनको मात्रा निकै न्यून रहेको र हाइकेमिकल ग्यासको मात्रा बढी भएका कारण उनीहरुको ज्यान गएको हुन सक्ने पनि उहाँले जानकारी दिनुभयो । 

सम्बन्धित समाचार


अन्तिम अपडेट: चैत १६, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया