कालंगा हाइड्राेपावरकाे सुरुङभित्र फसेका चारै जना मजदुर मृत अवस्थामा भेटिए

 कात्तिक १९, २०७६ मंगलबार १४:१९:१७ | डीबी बिष्ट
unn.prixa.net

बझाङ - बझाङको बुंगल नगरपालिकामा निर्माण भैरहेको कालंगा हाइड्रो प्रालिको सुरूङभित्र फसेका चारै जना मृत अवस्थामा भेटिएका छन् ।

आइतबार दिउँसो सुरुङभित्र काम गर्न पसेका उनीहरु नफर्केपछि खोजी कार्य सुरु गरिएको थियो ।  सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भवराज कटुवालको नेतृत्वमा आएको चार जनाको उद्धार टोलीले सुरु भित्र फसेका तीन जना मजदुरको शव सोमबार बेलुका ७ बजे निकालेको थियो । थप एक जनाको शव मंगलबार दिउँसो साढे एक बजे निकालिएको आश्रीत नम्बर एक गुल्म बझाङका सशस्त्र प्रहरी नायब उपरीक्षक(डीएसपी) गणेश शाहले जानकारी दिनुभयो ।

आइतबार सुरुङभित्र पसेका दैलेख जिल्लाको गुराँस गाउँपालिका ३ का ३२ वर्षीय महेन्द्र शाही, त्यही ठाउँका कर्ण शाही र अछामको तुर्माखाँद गाउँपालिका ६ का २८ वर्षीय महेन्द्र साउदको शव सोमबार निकालिएको थियो । बझाङ जिल्ला बुंगल नगरपालिका वडा नम्बर १ का ३५ वर्षीय शेरसिंह धामीको शव मंगलबार दिउँसो निकालिएको उद्धार टोलीका प्रमुख तथा सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक भवराज कटुवालले जानकारी दिनुभयो ।

धामीको शव सुरुङको मुखबाट १३ सय मिटर पर फेला परेको उहाँको भनाइ छ । अन्य तीन जनाको शव भने १२ सय मिटर पर फेला परेको थियो । सुरुङभित्र झण्डै तीन सय मिटर पर मास्क मात्रै लगाएर जान सकिने भए पनि त्योभन्दा पर भने अक्सिजनसहित जान पर्ने कटुवालले बताउनुभयो । सुरुङभित्र अक्सिजन नभएका कारण उनीहरुको निसास्सिएर  मृत्यु भएको उहाँको भनाइ छ ।

आफूहरुलाई पनि उद्धार गर्दा  निकै समस्या भएको बताउँदै सुरुङभित्र जाँदा आँखा पोल्ने, रिगँटा चल्ने र आफूसँग भएको अक्सिजन छिटोछिटो सकिने समस्या भएको उहाँले जानकारी दिनुभयो ।

उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको टोली खटिएको थियो । सुरुङ भत्र भने सशस्त्र प्रहरी निरीक्षक भवराज कटुवालको नेतृत्वमा सशस्त्र प्रहरी निरीक्षक विरेन्द्र बम, हवल्दार शिवहरि अधिकारी र सहायक हवल्दार ललित खाम्चा गएका थिए ।

मृतक चारै जनाको शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल बझाङ ल्याउने तयारी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) गणेशबहादुर बमले जानकारी दिनुभयो । साथै उद्धारमा खटिएको टोलीका लागि हेलिकप्टर मगाइएको र अबको केही समयमा त्यो टोली फिर्ता हुने उहाँले जानकारी दिनुभयो । 

सम्बन्धित समाचार

 


अन्तिम अपडेट: चैत १७, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया